लस एन्जलस, साउन २५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पदका प्रत्याशी सतेन्द्र साहले नेपाली समुदायलाई विभाजित बनाउने राजनीतिक प्रभाव अन्त्य गरी आप्रवासन र सामाजिक एकीकरणमार्फत एकजुट बनाउने लक्ष्य प्रस्तुत गरेका छन्।

शनिबार लस एन्जलसमा www.thehimalayanvoice.com Integration Through Media द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै साहले आफ्नो कार्यकालको मुख्य मुद्धा समुदाय एकीकरण हुने बताए। उनले नेपाली नागरिकता निरन्तरताका लागि प्रमुख राजनीतिक दलहरूसँग संविधान संशोधन प्रक्रियामा यो विषयलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता पनि जनाए।

स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको जिज्ञासामा उत्तर दिँदै साहले हजारौं नेपाली विद्यार्थी र न्यून आय भएका सदस्यहरूलाई आकस्मिक अवस्थामा आर्थिक सहयोग पुर्याउन सदस्यता शुल्कको सानो अंशबाट विशेष कोष परिचालन गरिने योजना सार्वजनिक गरे।
टिम सतेन्द्रका उपाध्यक्ष मोहन वाइवा र महासचिव मोहन न्यौपानेले वर्तमान नेतृत्वको लापरबाहीका कारण संघप्रति समुदायको धारणा नकारात्मक बनेको र सदस्यता संख्या घटिरहेको आरोप लगाए। कोषाध्यक्ष रविन्द्र उप्रेतीले संघमा आर्थिक पारदर्शिता अभाव र स्थानीय संघ–संस्थाप्रति जवाफदेहिताको कमी रहेको उल्लेख गर्दै टिम सतेन्द्रको नेतृत्वमा केही उदाहरणीय कार्य गर्ने दाबी गरे।

महिला संयोजक करिना कुवरले महिलामात्र होइन, दोस्रो पुस्ताका युवाबीच पनि एनआरएनएप्रति विश्वास घटेको भन्दै आफ्नो कार्यकालमा महिला र दोस्रो पुस्तालाई सक्रिय रूपमा जोड्ने कार्यक्रम अघि बढाउने योजना सुनाइन्।
कार्यक्रममा अवैतनिक वाणिज्यदूत ऋषि ढकाल, पशुपतिनाथ बुद्ध मन्दिरका अध्यक्ष बिमल श्रेष्ठ, नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाका सभापति मदन पाठकले टिम सतेन्द्रलाई खादा लगाएर अग्रिम विजयको शुभकामना दिए।

त्यस्तै, समुदायका अगुवा भक्त थापा, कृष्ण कोइराला, रामचन्द्र लामिछाने, रामबाबु पाण्डे, युबराज ओली, झमक निरौला, राजेश निरौला, अमृत महतो, बास बिशुलगायतले पनि शुभकामना व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता www.thehimalayanvoice.com Integration Through Media का सम्पादक पुरुषोत्तम ढकालले गरेका थिए भने संचालन नबिन पोखरेलले गरेका थिए।