अटलान्टा, अमेरिका – गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC USA) को २०२५–२०२७ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सन्तोष पहारीले एनआरएन नागरिकताको सन्दर्भमा एक सशक्त र दूरदर्शी सन्देश सार्वजनिक गर्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धि निर्माणको निर्णायक शक्तिका रूपमा चित्रण गरेका छन्।
उनको सन्देशको मूल सन्देश स्पष्ट छ — अब ढिलाइ होइन, निर्णायक निर्णयको बेला हो।

सन्तोष पहारीले आधुनिक युग, प्रविधिमैत्री अर्थतन्त्र र विश्वव्यापी नागरिकताको अवधारणाबीच नेपालको भविष्य पुनः लेख्ने सम्भावना रहेको उल्लेख गरेका छन्। उनले भने, “हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ शक्ति सीमाबाट विचारतर्फ, जमिनबाट डिजिटलतर्फ, र स्थानीयबाट वैश्विकतर्फ सर्दैछ। अब यो केवल अर्थतन्त्रको परिभाषा होइन, यो नयाँ युगको सुरुवात हो। र नेपालले अब उठ्नैपर्छ।”
“एनआरएनहरू बाहिरी होइनन्, नेपालकै विश्वव्यापी विस्तार हुन्”
गैरआवासीय नेपालीलाई नेपालको परिवर्तनका लागि अपरिहार्य साझेदारका रूपमा चिनाउँदै पहारीले नेपाल सरकारलाई स्पष्ट सन्देश दिएका छन् — एनआरएन नागरिकता बिना सर्त र बिना सन्देह प्रदान गरिनुपर्छ।
“एनआरएनलाई अधिकार दिनु भनेको लगानीको ढोका खोल्नु हो, नवप्रवर्तनको बाटो बनाउनु हो,” पहारीको भनाइ छ। “यो कुनै अनुग्रह होइन, यो राष्ट्र परिवर्तनको रणनीति हो।”
उनले गैरआवासीय नेपालीहरूसँग:
- अन्तर्राष्ट्रिय अनुभवबाट निखारिएको सीप,
- लगानीका लागि तयार पुँजी, र
- मातृभूमिप्रतिको अटूट प्रेम रहेको दाबी गर्दै
यो पूँजीलाई नअँगाल्नु नेपालको सम्भावनामाथि आफैंले लगाइएको बन्देज भएको उल्लेख गरे।
सशक्त नाराः
“निडर नीति। साहसी नेतृत्व। उज्यालो नेपाल।”
सन्तोष पहारीको अभियान केवल पदका लागि होइन, परिवर्तनको नेतृत्वका लागि हो भन्ने स्पष्ट सन्देश दिन्छ। उनले नारा दिएका छन् — “एक पटक नेपाली, सधैं नेपाली” र आह्वान गरेका छन्, “अब हामी सँगै त्यो नेपाल बनाऔं जसमा हामी सबै विश्वास गर्छौं।”
उनको सन्देशले अहिलेको ज्वलन्त राष्ट्रिय बहस — एनआरएन नागरिकता — लाई नयाँ उचाइमा पुर्याउने सम्भावना देखिएको छ। यस्ता विचारहरूले एनआरएन आन्दोलनलाई नारा र सम्मेलनमा सीमित नराखी, नीति निर्माण तहसम्म पु-याउन सक्ने सम्भावना देखिन्छ।
उम्मेदवारीको सन्दर्भ
सन्तोष पहारी, जो जर्जिया, अटलान्टामा सक्रिय नेपाली समुदायका अनुभवी व्यक्तित्व हुन्, विगत दुई दशकदेखि प्रवासी नेपालीबीच नेतृत्व, सामाजिक सेवा र आर्थिक लगानीका क्षेत्रमा क्रियाशील छन्। उनले २०२५–२०२७ कार्यकालका लागि एनआरएनए एनसीसी अमेरिका को वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनी नेतृत्वमा आएमा, गैरआवासीय नेपालीहरूलाई अधिकार, पहिचान र सम्मानका साथ मातृभूमिसँग अझ मजबुत रूपमा जोड्न पहल गर्ने वाचा गर्छन्।