सिड्नी, अष्ट्रेलिया — नेपाली स्वाद, संस्कृति र सामाग्रीलाई अष्ट्रेलियाको भान्सासम्म पुर्याउने अभियानमा अगाडि छन् काठमाडौंका भूषण कक्षपति। उनले स्थापना गरेको सगुन ग्रुप आज अष्ट्रेलियामा नेपाली उत्पादनको सबैभन्दा व्यापक वितरकको रूपमा स्थापित भइसकेको छ।
सपना साकार पार्दै “सगुन”
सन् २०१९ मा केही साथीहरूसँग मिलेर सुरु गरिएको यो यात्रा २०२० देखि भूषणले एक्लैले अगाडि बढाए। अहिले सगुन ग्रुपले अष्ट्रेलियाका सबै प्रमुख शहरहरूमा 125 भन्दा बढी नेपाली उत्पादन वितरण गरिरहेको छ। अचार, गुन्द्रुक, पीठो, मासी चामलदेखि पूजा सामग्रीसम्म — जुन वस्तु नेपालमै पनि एकै ठाउँमा पाइँदैन, त्यो सगुन ग्रुपको स्टोर वा अनलाइनमा सहज उपलब्ध छ।
अष्ट्रेलियामा “नेपाल” भित्र्याउने लक्ष्य
भूषणको लक्ष्य सधैं स्पष्ट थियो — नेपाली उत्पादनलाई विदेशमा चिनाउने र नेपाललाई गौरवसाथ विश्वसामु उभ्याउने। त्यसै अनुरूप, नेपाली भाले, देशी कुखुरा, भैंसीको मासु लगायतको सप्लाईसहित सगुन बुचरी पनि सञ्चालनमा ल्याइएको छ। दशैं-तिहार जस्ता चाडपर्वमा नेपाली परिकारहरू सहजै उपलब्ध गराउने लक्ष्यसहित उनी लागिपरेका छन्।
नेपाली उत्पादन विदेशी भान्सामा
सगुन ग्रुप नेपालमै प्याकेजिङ गरेर गुणस्तरीय वस्तुहरू अष्ट्रेलियामा आयात गर्छ। नेपालमा बनाइएका धेरै सामग्री भारतको बन्दरगाह हुँदै करिब ४५–६० दिनको समुद्री यात्रा पश्चात अष्ट्रेलिया आइपुग्छ। यो प्रक्रियामा धेरै कानुनी, प्राविधिक र प्रशासनिक चुनौतीहरू भए पनि भूषणले हार मानेनन्।“सुरुका दिनमा थुप्रै सामान फाल्नुपर्यो,” उनी सम्झन्छन्, “तर अनुभवले अब हामी आत्मनिर्भर छौं।”
नेपाली बजारका सम्भावना र सन्देश
नेपाली उत्पादनको माग विदेशमा दिनप्रतिदिन बढिरहेको छ। विद्यार्थी, आप्रवासी परिवार र अन्य विदेशी उपभोक्ता पनि अब नेपाली अचार, चाउचाउ, धूप, पूजा सामग्री रोज्न थालेका छन्।“नेपालले उत्पादन बढाउन सक्यो भने, विदेशमा राम्रो मूल्य पाइन्छ,” भूषण भन्छन्, “हामी प्रतिस्पर्धी भएर अघि बढ्न सक्छौं।”
सरकारी समन्वयको अपिल
भूषणका अनुसार, नेपाल सरकारले अष्ट्रेलियासँग गरेको व्यापार सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके, नेपाली उत्पादन झनै सुलभ मूल्यमा विदेशमा पठाउन सकिन्छ।“विशेष केमिकल लोडिङ अनुमति नेपालमै भए, लागत घट्छ,” उनी जोड दिन्छन्।
सगुन ग्रुप – अष्ट्रेलियामा नेपाली स्वाद र आत्माको नाम
आज, सगुन ग्रुप नेपाली उत्पादनको आयातकर्ता मात्र नभई, नेपालीपन जोगाउने अभियानको एक प्रेरणादायी उदाहरण बनिसकेको छ। भूषण भन्छन्,“विदेशमा बस्दा पनि हामी नेपाली नै हौं। त्यसैले सकेसम्म आफ्नो देशको उत्पादन प्रयोग गरौं, नेपाली व्यवसायलाई साथ दिऔं।”
भोलिको योजना:
- प्याकेजिङमा इनोभेसन
- नयाँ प्रोडक्ट थप्ने
- गुणस्तर र आपूर्ति दुवैमा मजबुत उपस्थिति