हङकङ, ७ अगस्ट २०२५ — नेपाली आदिवासी जनजाति महासंघ, हङकङको आयोजनामा आउँदो ३१ अगस्ट २०२५, आइतबार का दिन ३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने तयारी भएको छ। यस कार्यक्रमको प्रमुख उद्देश्य नेपालका विविध आदिवासी जनजातिहरूको मौलिक संस्कृति, पहिचान र एकतालाई सम्मान गर्नु हो।

कार्यक्रम Henery G. Leuang Community Center, Yau Ma Tei मा बेलुका ५:०० बजे सुरु हुनेछ। सहभागीता सबैका लागि निःशुल्क रहनेछ।
कार्यक्रममा विशिष्ट अतिथि माननीय शेर बहादुर राई र प्रमुख वक्ता विचारक मक्तन थुलुङ “आहूती” रहनुहुनेछ भने सांस्कृतिक प्रस्तुतीमा गायक शिवध्वज आले मगर को विशेष प्रस्तुती पनि रहनेछ।
यस सन्दर्भमा समाजसेवी तथा स्वतन्त्र नेता प्रेम लामा ले सम्पूर्ण हङकङवासी नेपाली समुदायलाई हार्दिक आमन्त्रण गर्दै निम्न सन्देश जारी गर्नुभएको छ:
“हामी आदिवासी जनजातिहरूको गौरवशाली इतिहास, संस्कृति र मौलिक पहिचानको सम्मानस्वरूप हरेक वर्ष मनाइने ‘विश्व आदिवासी दिवस’ यो वर्ष पनि हर्षोल्लासका साथ मनाउन गइरहेका छौं। हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई आदिवासी एकताको सन्देश दिन अनुरोध गर्दछु। तपाईंहरूको उपस्थिति नै हाम्रो गौरव र हौसला हो।”
कार्यक्रममा तमाङ, याक्खा, सुनुवार, नेवार, राई, दुगा, शेर्पा, मगर, लिम्बु, थकाली, गुरुङ लगायत थुप्रै जनजातिहरूको सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।
नेपाल आदिवासी जनजाति महासंघ हङकङ को यो आयोजनाले हङकङमा नेपाली समुदायबीचको सहकार्य, संस्कृति संरक्षण र पहिचानको सशक्त प्रस्तुती हुने विश्वास गरिएको छ।