“नेपालमा बालेन्द्र शाह, अमेरिकामा सतेन्द्र शाह” — प्रवासी नेपालीका पक्षमा स्पष्ट आवाज उठाउने नेताको आवश्यकता भएको अन्जना श्रेष्ठको धारणा
वासिङ्टन डीसी – गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाको आसन्न निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखिएको एक सशक्त अभिव्यक्तिले अहिले चर्चा पाउँदैछ। अमेरिकामा बसोबास गर्दै आएकी सक्रिय सामाजिक अभियन्ता अन्जना श्रेष्ठले हालै एक सामाजिक पोस्टमार्फत एनआरएनएमा परिवर्तन चाहने हरुको प्रतिनिधि स्वर बनेका उम्मेदवार सतेन्द्र शाहलाई खुलेर समर्थन जनाउँदै, प्रस्ट शब्दमा लेखेकी छन् – “नेपालमा बालेन्द्र शाह, अमेरिकामा सतेन्द्र शाह।”

श्रेष्ठले आफ्नो पोस्टमा वर्तमान समयमा प्रवासी नेपालीहरूलाई आवश्यक परेको नेतृत्वको खाँचोप्रति संकेत गर्दै लेखेकी छन् – “अहिले प्रवासी नेपालीलाई चाहिएको छ, परेमा नेपाली नेताहरुलाई चेतावनी दिन सक्ने नेतृत्व। चाकरी र चाप्लुसी गरेर नेता र कर्मचारीको अघिपछि गरेर हस् हजुर हस् भन्दै हिँड्ने हैन।”
उनी थप भन्छिन्, “दिन्दिनै प्रवासी नेपालीले नेपालको एअरपोर्ट र सरकारी कार्यालयमा भोग्नुपरेको दुर्दशा, प्रवासी नेपालीलाई लक्षित गरेर बनाइने नियमहरूको विरोधमा स्पष्ट र साहसी आवाज उठाउन सक्ने नेतृत्व आजको आवश्यकता हो।”
श्रेष्ठले सतेन्द्र शाहलाई “ऑट भएको एकमात्र उम्मेदवार” को संज्ञा दिँदै उनको स्पष्ट दृष्टिकोण, निडरता, र प्रवासी नेपालीप्रतिको प्रतिबद्धता उल्लेख गरेकी छन्। “यसपटकको भोट सतेन्द्र शाह र उनको टिमलाई हालौं।” भन्दै उनले एकपटक फेरि परिवर्तनको पक्षमा जनमत निर्माण गर्न आह्वान गरेकी छन्।
सामाजिक संजालमा उनको स्टाटसलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। गैरआवासीय नेपालीहरूको हक–हितको सवालमा स्पष्ट, निर्भीक र असरदार नेतृत्व चाहिएको सन्दर्भमा सतेन्द्र शाहको नाम अगाडि ल्याउनुले आगामी चुनावमा उनको पक्षमा उत्साहजनक लहर बनिरहेको देखिन्छ।