मोरङ, बेलबारी — नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद डा. सुनिल कुमार शर्माले आज आफ्नी आमाको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश सार्वजनिक गरेका छन्।
संस्कृत श्लोक “न मातुः परदैवतम्” — अर्थात् “आमाभन्दा ठूलो देवता कोही हुँदैन” भन्ने सूक्तिको उद्धरण गर्दै उनले आफ्नी ममतामयी आमाप्रति कृतज्ञता प्रकट गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै डा. शर्माले लेखेका छन्, “आज मेरी ममतामयी आमाको जन्मदिन। यस पावन दिनमा आमालाई हार्दिक शुभकामना अर्पण गर्दछु। तपाईं हुनुहुन्छ, त्यसैले हाम्रो संसार उज्यालो छ। ईश्वरको कृपा सदा तपाईंमाथि रही रहोस्। हामीलाई सधैँ तपाईंको सेवा गर्न पाउने सौभाग्य प्राप्त होस्।”
साँच्चिकै यो सन्देशमा माताप्रति प्रेम, श्रद्धा र समर्पण भाव छर्लङ्ग देखिन्छ। डा. शर्माको राजनीतिक जीवन जति सक्रिय र व्यस्त देखिन्छ, पारिवारिक र मानवीय सम्बन्धमा पनि उति नै समर्पित र भावुक छन् भन्ने कुरा यस सन्देशले प्रष्ट पार्दछ।
संसदीय क्षेत्रमा विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका डा. शर्मा व्यक्तिगत जीवनमा पनि निकै सरल, भद्र र कृतज्ञ स्वभावका नेताको रूपमा चिनिन्छन्। माताप्रतिको यो अभिव्यक्ति सायद हरेक छोराछोरीको मनको भाव हो, तर जब एक राष्ट्रिय नेता यस्तो आत्मीयताका साथ सार्वजनिक सन्देश दिन्छन्, त्यो अझ गहिरो प्रेरणा बन्न पुग्दछ।
नेतृत्वमा संवेदनशीलता र संस्कारको समिश्रण नै डा. शर्माको विशेषता हो भन्ने उदाहरण यस प्रकारका व्यक्तिगत सन्देशले पुनः पुष्टि गरेका छन्।