काठमाडौँ, साउन ११ –विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने, जानकारी नपाइने र ढिलासुस्ती हुनेजस्ता गुनासाहरूको समाधानका लागि एक अत्याधुनिक डिजिटल प्रणालीको तयारी अन्तिम चरणमा पुगेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा गैरआवासीय नेपाली संघ (NRNA) बीचको सहकार्यमा AI Chatbot System र Call Center Integration प्रणाली तयार पारिएको हो, जसलाई “श्रम संसार” एप मार्फत प्रयोगमा ल्याइनेछ।
आज श्रम मन्त्रालयमा आयोजित एक महत्वपूर्ण छलफलका क्रममा माननीय श्रम मन्त्री शरद सिंह भण्डारी, माननीय परराष्ट्र मन्त्री आरजु राणा देउवा, सम्बन्धित मन्त्रालयका प्राविधिक टोलीहरू तथा गैरआवासीय नेपाली संघ (ICC) का अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको प्राविधिक टोलीसँग संयुक्त बैठक सम्पन्न भयो। उक्त बैठकमा NRNA प्राविधिक टोलीद्वारा प्रणालीको डेमो (Demo) समेत प्रस्तुत गरिएको थियो।
यूएईबाट पाइलट परियोजना सुरु हुने
यो प्रणालीलाई सबैभन्दा पहिले संयुक्त अरब इमिरेट्स (UAE) मा Pilot Project को रूपमा लागू गरिनेछ। सफल परीक्षणपश्चात अन्य मुलुकका नेपाली दूतावासहरूमा पनि क्रमशः विस्तार गर्दै लैजाने सहमति भएको छ।
विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने भए तापनि कर्मचारी संख्या अत्यन्त न्यून भएको कारण सेवाग्राहीहरूले लामो समयसम्म सेवा नपाउने स्थिति रहँदै आएको छ। यस समस्याको दीर्घकालीन समाधानका रूपमा AI आधारित च्याटबोट प्रणाली र कल सेन्टर निर्माण गरिएको हो।
सेवाको दायरा
यस प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले तलका सेवा तथा जानकारीहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्:
- राहदानी, नागरिकता, अन्य कागजातका प्रक्रिया
- श्रमिक हक, कानुनी परामर्श
- आपतकालीन सम्पर्क सेवा
- हेल्थ एजुकेशन, टेलिमेडिसिन सेवा र स्वास्थ्य परामर्श
- रोजगारी, सरोकारवाला निकायसँग समन्वय
- श्रमिक मुद्दा, रेस्क्यु तथा पुन: स्थापनासम्बन्धी सूचना
AI च्याटबोट प्रणालीबाट नेपाली भाषामा तत्काल जानकारी प्राप्त हुने हुँदा भाषा र समयको अवरोध समेत हट्ने विश्वास गरिएको छ।
मन्त्रीहरूको सकारात्मक सहकार्य प्रति आभार
गैरआवासीय नेपाली संघ (ICC) का अध्यक्ष महेश कुमार श्रेष्ठले दुबै मन्त्रालयको सक्रियता र सकारात्मक सहयोगप्रति आभार व्यक्त गर्दै भने –
“श्रम र परराष्ट्र मन्त्रालयबीचको सहकार्यको यो सफल नमूना अब नेपाली जनताको सेवामा प्रत्यक्ष लागू हुँदैछ। विदेशमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समस्यालाई प्रविधिको माध्यमबाट समाधान गर्न अब हामी केही कदम अघि बढिसकेका छौं।”
अध्यक्ष श्रेष्ठले माननीय श्रम मन्त्री शरद सिंह भण्डारी र माननीय परराष्ट्र मन्त्री आरजु राणा देउवा को दृढ इच्छाशक्ति, प्रविधिको महत्त्वप्रतिको बुझाइ र कार्यान्वयनको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी चरणहरूमा पनि सहयोगको अपेक्षा गरेका छन्।
डिजिटल पहुँचमार्फत प्रवासी नेपालीलाई आत्मबल
श्रम संसार एपमार्फत सुरु गरिने यो प्रणाली प्रवासी नेपालीहरूका लागि “डिजिटल पहुँचबाट आत्मबल” सन्देश दिनेछ। अब विदेशमा हुँदा पनि आफ्नै मोबाइल फोनबाट तत्काल दूतावास वा सरोकारवाला निकायसँग प्रत्यक्ष सम्पर्क गर्नु सहज हुनेछ।
यस अभिनव प्रयासले नेपालको कूटनीतिक तथा श्रम व्यवस्थापन क्षेत्रलाई प्रविधिमैत्री र सेवामुखी बनाउने दिशामा ऐतिहासिक पाइलो चाल्ने विश्वास गरिएको छ।