सउल, दक्षिण कोरिया –नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दनराज काफ्ले दक्षिण कोरिया भ्रमणमा रहनु भएको अवसरमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले एक भव्य स्वागत, भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।
दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, व्यवसायी तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मन्त्रीमण्डलका सदस्य काफ्लेलाई सम्मान गर्दै कोरियामा रहेका नेपालीहरूले आफ्नो चासो, समस्या र सुझावहरू राखेका थिए।
कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरू, एनआरएनए कोरियाका प्रतिनिधिहरू, महिला अभियन्ता, युवा नेताहरू, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र दीर्घकालीन रूपमा कोरियामा बसोबास गरिरहेका नेपालीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा सहभागी समाजसेवी तथा व्यवसायी लक्ष्मी गुरुङले आफ्नो सामाजिक सञ्जालमा तस्बिरहरू सेयर गर्दै यस्तो लेखेकी छन् —
“नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजित मन्त्रीज्यूको स्वागत, भेटघाट तथा सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त गर्व महसुस भयो। यस्ता कार्यक्रमहरूले हाम्रो कोरियाली नेपाली समुदाय र मातृभूमिबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ। मन्त्रीज्यूको उपस्थिति र उहाँले व्यक्त गर्नुभएका विचारहरूले हामीलाई थप प्रेरणा दिएको छ।”
यस अवसरमा मन्त्री काफ्लेले विदेशमा रहेर पनि नेपालको आर्थिक विकास, लगानी, पर्यटन प्रवर्द्धन र नीति निर्माणमा योगदान गर्न सकिने उल्लेख गर्दै, प्रवासी नेपालीहरूको सशक्त भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रमको अन्त्यतिर मन्त्रीज्यूलाई विशेष सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमले प्रवासी नेपालीबीच एकता, उत्साह र मातृभूमिप्रतिको प्रतिबद्धतालाई अझ गहिरो बनाएको सहभागिहरूले बताएका छन्।
कार्यक्रम सफल बनाउन अहम भूमिका खेल्ने सम्पूर्ण अभियन्ता, आयोजक र सहभागीहरूलाई धन्यवाद दिँदै समाजसेवी लक्ष्मी गुरुङले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइन्।