टोकियो, जुलाई २२, २०२५ – आगामी कार्यकालका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा उम्मेदवार रहेका सिद्धार्थ श्रेष्ठले सामाजिक सञ्जालमार्फत एक भावुक, आत्मीय र कृतज्ञतापूर्ण सन्देश सार्वजनिक गरेका छन्। उनले सन्देशमा हालै सम्पन्न २३–२५ कार्यसमितिको सफल समापन, अध्यक्ष नविन निउरेसंग सहयात्रा, र आगामी निर्वाचनप्रति आफ्नो दृष्टिकोण प्रस्ट्याएका छन्।
श्रेष्ठले सन्देशको शुरुवातमा लेखेका छन्,
“प्रिय नबिन भाइ (मेरो अध्यक्ष) – ‘ओचुकारे सामा’ भन्न ढिला भयो नभन्नु, निर्वाचनको दौडधुपमा ढिलो मात्र भयो।”
उहाँले हालै सम्पन्न कार्यकालमा अध्यक्ष नविन न्यौरेले देखाएको दृढ अठोट, योजना, र कार्यान्वयन क्षमताको खुलेर प्रशंसा गर्दै २३–२५ कार्यसमितिलाई “सेफ ल्यान्डिङ” गराएकोमा हार्दिक बधाई दिएका छन्।
श्रेष्ठले भावनात्मक शैलीमा आफ्नो सहयात्रा सम्झिँदै लेखेका छन्,
“हामी दुबै जना मालढुङ्गाको त्यो पूल तरेर जापान आएका हौं, कालिगण्डकीको पवित्र गंगाजल पिएर हुर्किएका हौं।”
यस्तो सहयात्रामा कहिलेकाहीं विचार भिन्नता भए पनि आपसी सम्बन्धमा खोट नआएको उल्लेख गर्दै उनले विगतमा दिएको कडा सुझाव कुनै व्यक्तिगत ईर्ष्या नभई इमानदार सल्लाह मात्र भएको स्पष्ट पारेका छन्।