काठमाडौं,६ साउन २०८२ – आगामी अक्टोबर ११ र १२, २०२५ मा आयोजना हुने एनआरएन लगानी सम्मेलन (NRN Investment Summit) को तयारी तीव्र पारिएको छ। यसै सन्दर्भमा, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र ढकाल बीच आज एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
अध्यक्ष श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत छलफलबारे जानकारी दिँदै भनेका छन्, “आगामी अक्टोबर ११ र १२, २०२५ का दिन आयोजना गरिने एनआरएन लगानी सम्मेलनका सन्दर्भमा एफएनसीसीआई अध्यक्ष चन्द्र ढकालसँगको आजको छलफल अत्यन्तै उत्साहप्रद भयो।”
छलफलमा सम्मेलनको रणनीति, साझेदारीका सम्भावना, लगानीमैत्री वातावरण निर्माण, र प्रवासी नेपालीहरूको पूँजी तथा सीपलाई कसरी नेपालमा आकर्षित गर्न सकिन्छ भन्ने विषयमा गहन विमर्श भएको बताइएको छ।
एनआरएनएले हाल देश–विदेशमा लगानी प्रवर्द्धनका लागि सञ्जाल विस्तार गर्दै आएको छ। उक्त सम्मेलन नेपालमा दीर्घकालीन, भरपर्दो र उत्पादनमुखी लगानी भित्र्याउने हेतुले आयोजना गरिँदैछ।
अध्यक्ष श्रेष्ठको नेतृत्वमा सम्मेलन सफल पार्नका लागि सरकार, निजी क्षेत्र, र प्रवासी नेपाली समुदायबीच सहकार्य र समन्वयलाई प्राथमिकतामा राखिएको छ। चन्द्र ढकालले पनि सम्मेलनमा एफएनसीसीआईको पूर्ण सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ।
एनआरएन लगानी सम्मेलनले प्रवासी नेपालीहरूको उत्साह र इच्छाशक्ति तथा नेपालभित्रको उद्यमशीलता र संस्थागत संरचनाबीचको पुलको रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ।