ओसाका, जापान – बागलुङको ऐतिहासिक सहर गल्कोटमा जन्मिएका र विगत १५ वर्षदेखि जापानलाई कर्मभूमि बनाई नेपाली समुदायको हकहितमा समर्पित यदुराम सापकोटाले गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
“चुनावी नाराले होइन, काम गरेर देखाउने छु” भन्ने हुटहुटीसहित मैदानमा उत्रिएका सापकोटा जापानमा सन् २०१३ देखि NRNA मा सक्रिय सदस्यका रूपमा कार्यरत रहँदै आएका छन्। सामाजिक सेवा, संस्थागत पारदर्शिता र संगठन सुधारप्रति प्रतिबद्ध सापकोटा अहिले ओसाकामा आफ्नै व्यवसाय सञ्चालन गर्दै विभिन्न सामाजिक संस्थामा सशक्त रूपमा क्रियाशील छन्।

“म विधानको आड लिएर होइन, आम नेपालीको आवाज बोकेर आएको हुँ,” सापकोटाले स्पष्ट सन्देश दिएका छन्।
उहाँले एनसीसीमै क्रियाशील भई संगठनलाई सेवा गर्न चाहेको भए पनि विद्यमान विधानले प्रस्ट मार्ग नदिएकोप्रति असन्तोष पोख्दै, अबको दिनमा विधान परिवर्तनको बाटो खोल्नका लागि ICC मा पुग्नुपर्ने बाध्यता रहेको बताएका छन्।
“आईसीसीमा दोहोरो नेतृत्व देखिएको वर्तमान परिस्थितिमा, महेश श्रेष्ठ वा बद्रि केसी जुनसुकै पक्षलाई अदालतले वैधता दिउँ — म त्यसैमा रहेर पनि निष्पक्ष र इमानदार ढंगले काम गर्न तयार छु,” सापकोटाले मतदाताहरूलाई आश्वस्त पारेका छन्।
“मैले विद्यार्थी भिसामा जापान टेकें, आजको दिनसम्म आइपुग्दा यहाँको समाजमा संस्थागत सशक्तीकरणका लागि निरन्तर लागिरहेकै छु। संस्था कमजोर बनाउने होइन, बलियो बनाउने अभियानमा लाग्ने हो भने मलाई साथ दिनुहोस्,” भन्ने सापकोटाको भनाइले धेरै जापानवासी नेपालीहरूलाई प्रभावित बनाएको छ।
उहाँले संस्थाभित्रका विकृति र बेथितिविरुद्ध नडराई आवाज उठाउने, युवाको नेतृत्वको प्रतिनिधित्व सुनिश्चित गर्ने र वास्तविक श्रमिक वर्गको मुद्धा उठाउने प्रतिबद्धता व्यक्त गर्दै जापानस्थित सम्पूर्ण मतदाताहरूको मत र समर्थनको अपिल गरेका छन्।
“NRNA को सुधार अब नारामा होइन, यदुराम जस्ता इमानदार नेतृत्वको काँधमा निर्भर छ”
सारांशमा, यदुराम सापकोटाको उम्मेदवारी केवल ICC सदस्य पदको हो मात्र होइन, त्यो गैरराजनीतिक, जनमुखी, र कार्यदक्ष नेतृत्वको एक आवश्यकता पनि हो।
NRNA जापानका मतदाताहरू अब निर्णयको दोबाटोमा छन् — नारावाजी गर्नेहरू वा नतिजा देखाउनेहरू।
सापकोटा भन्छन्: “मतदान गर्नुहोस्, नाराभन्दा परिणाम रोज्नुहोस्!”