टोकियो, जापान – गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा सामाजिक क्षेत्रका सक्रिय युवा अभियन्ता सुभाष लामिछानेले आफ्नो उम्मेदवारी आज बिहान ९ बजे औपचारिक रूपमा दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि लामिछानेले एक सार्वजनिक सन्देशमार्फत सम्पूर्ण जापानवासी नेपाली समुदायप्रति आभार व्यक्त गर्दै भावनात्मक अपिल गरेका छन्। उहाँले लेख्नुभएको छ:
“तपाईंहरुको माया, सद्भाव र शुभेच्छाका कारण आज मैले यो ऐतिहासिक यात्रा अगाडि बढाएको छु।”
सुभाष लामिछाने जापानमा रहेका नेपालीहरूको हकहित, सेवा र समृद्धिका लागि निरन्तर सक्रिय रहँदै आएका एक कर्मठ युवा नेतृत्वका रूपमा चिनिन्छन्। प्रवासी नेपालीहरूको समस्या समाधानदेखि युवा सहभागिता र सामाजिक अभियानमा उहाँको अग्रसरता उल्लेखनीय रहँदै आएको छ।
उहाँले आगामी निर्वाचनमा “तपाईंको अमूल्य मतले अध्यक्ष पदमा मेरो विजय सम्भव बनाइदिनुहुनेछ” भन्ने आशा व्यक्त गर्दै आफूसँगै आफ्ना नजिकका साथीभाइ तथा आफन्तहरूको मत पनि आफूलाई दिन हार्दिक अनुरोध गर्नुभएको छ।
संगठनलाई नयाँ उचाइमा पुर्याउने, समावेशी नेतृत्व स्थापना गर्ने र सबै वर्ग, क्षेत्र तथा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने आफ्नो अठोट दोहोर्याउँदै लामिछानेले एनआरएनए जापानलाई अझ पारदर्शी, जिम्मेवार र नेपालीको वास्तविक सहारा बनाउने योजनासमेत प्रस्तुत गरेका छन्।
“NRNA अब केवल संस्था होइन, विश्वासको पर्याय बन्नुपर्छ,” भन्ने नाराका साथ अघि बढिरहेका सुभाष लामिछानेको उम्मेदवारीले जापानस्थित नेपाली समुदायमा उत्साह र प्रतिस्पर्धाको नयाँ ऊर्जा थपेको देखिएको छ।