टोकियो, जापान – गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले आज निर्वाचन समितिद्वारा तोकिएको मिति अनुसार आफ्नो औपचारिक उम्मेदवारी दर्ता गराएका छन्।
जापानमा लामो समयदेखि नेपाली समुदायको सेवा र हकहितमा समर्पित श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै भावनात्मक र प्रेरणादायी सन्देशमार्फत आफ्ना विचार साझा गरेका छन्।
उहाँले लेख्नु भएको छ –
“मैले पैसा होइन, पसिना बगाएको छु।
हरेकका समस्याहरू आफ्नै हो भन्ने भावनाले काम गरेको छु।
दुःख र पीडामा साथ दिएको छु।”
सिद्धार्थ श्रेष्ठ जापानस्थित नेपाली समुदायका एक जुझारु, निस्वार्थ र निष्ठावान सामाजिक अभियन्ता हुन्। विगतका वर्षहरूमा आपतबिपतका घडीमा अग्रपंक्तिमा उभिँदै सहयोग पु¥याउँदै आएका श्रेष्ठलाई नेपाली समुदायभित्र एक आत्मीय, कर्मशील र आशालाग्दो नेतृत्वका रूपमा लिइन्छ।
उम्मेदवारी दर्तापछि उहाँले भन्नुभयो –
“यस अभियानको यात्रामा मैले के गरे, के गरिन भन्ने मूल्यांकन तपाईँहरू सबैले आफैं गर्नु भएको छ। म यहाँसम्म हजुरहरूकै साथ, समर्थन र भरोसाले आइपुगेको हुँ।”
श्रेष्ठले यदि पुनः अध्यक्षको जिम्मेवारी पाउने अवसर प्राप्त भएमा एनआरएनए जापानलाई सबैको साझा भरोसा र सहाराको संस्थाको रूपमा थप मजबुत बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
उहाँले आगामी कार्यकालमा थप पारदर्शिता, सामाजिक उत्तरदायित्व, आप्रवासी नेपालीको अधिकार सुनिश्चितता र युवाहरूको सशक्तिकरणलाई आफ्नो कार्ययोजनाको मूल एजेन्डा बनाउने संकेतसमेत दिएका छन्।
अन्त्यमा, उहाँले सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो उम्मेदवारीमा निरन्तर साथ, सुझाव र विश्वास प्रदान गरिदिन हार्दिक आग्रह गर्दै समर्थनको अपिल गर्नुभएको छ।
“NRNA सबैको साझा भरोसा बन्नेछ, हाम्रो सहारा बन्नेछ” भन्ने सिद्धार्थ श्रेष्ठको प्रतिबद्धता जापानस्थित नेपाली समुदायबीच उत्साह र आशाको नयाँ ज्योति बनेर उदाएको छ।