गोवा, भारत – नेपाली समुदायको अभिभावक संस्था ‘किन इण्डिया’का गोवा प्रतिनिधि तथा समाजसेवी लोकेन्द्र शेर्पालीले हालै गोवा पुगेको नेपाली टोलीलाई न्यानो स्वागत गर्दै उल्लेखनीय सद्भाव र सहयोग प्रदान गर्नुभएको छ।
नेपाली टोलीका सदस्य इन्द्र राज भट्टराईले सामाजिक सञ्जालमार्फत उक्त भ्रमणको स्मरण गर्दै शेर्पालीद्वारा गरिएको अतिथिसत्कार, कार्यक्रम व्यवस्थापन तथा सम्पूर्ण गोवा बसाइ सहज र सफल बनाउन पुर्याएको भूमिकालाई उच्च सम्मानका साथ स्मरण गर्नुभएको छ।
उहाँको भनाइमा, “हामी गोवामा प्रवेश गर्दा लोकेन्द्र शेर्पालीद्वारा गराइएको स्वागत अत्यन्त आत्मीय र गर्वको विषय थियो। कार्यक्रमको सफल आयोजनादेखि हाम्रा आवश्यकताहरूको व्यवस्थापनसम्म, उहाँको साथ र सद्भाव अविस्मरणीय रह्यो।”
गोवामा सम्पन्न उक्त कार्यक्रमले नेपाली संस्कृति, एकता र आपसी सहकार्यलाई थप सुदृढ बनाएको इन्द्रराज भट्टराईको भनाइ छ। गोवाबाट फर्किँदै गर्दा टोलीले लोकेन्द्र शेर्पालीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँको अग्रजसरहको भूमिकालाई ‘प्रेरणादायी’ भन्नुभएको थियो।
यस अभिव्यक्तिले प्रवासमा रहेका नेपालीहरूबीचको सहकार्य र सम्मानको संस्कृति झल्काउँछ।
“जहाँ नेपाली छन्, त्यहाँ आपसी सद्भाव र सेवा भावना छ” भन्ने भनाइलाई लोकेन्द्र शेर्पालीले जीवन्त उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ।