टोकियो, जापान – जुलाई १२, २०२५—गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सुभाष लामिछानेले औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार टोकियोमा आयोजित भव्य सभामा लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गर्दै संगठनलाई थप पारदर्शी, सबैको साझा र राजनीतिक प्रभावमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
ट
घोषणा सभामा सहभागी आदरणीय अग्रज, मित्र, सहकर्मी, संघ–संस्थाका प्रतिनिधि, पत्रकार, महिला र युवा समुदायप्रति धन्यवाद व्यक्त गर्दै लामिछानेले भने, “तपाईंहरूको साथ, सद्भाव र उपस्थितिले मलाई आज यो ठूलो जिम्मेवारी उठाउने प्रेरणा र हिम्मत दिएको हो।”
१८ वर्षे अनुभवको आधारमा अध्यक्षको आकांक्षा
विसं २०६४ (सन् २००७) देखि जापानमा बसोबास गर्दै आएका लामिछाने पर्वत समाज जापानका सदस्यदेखि अध्यक्ष, एनआरएनए जापानको प्रवक्ता र उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएका छन्। यस क्रममा उनले नेपाल फेस्टिवल जापानमा उप–संयोजकको भूमिका निर्वाह गर्नुका साथै हटलाइन तथा घुम्ती सेवामार्फत हजारौं नेपालीहरूलाई सहयोग गरेका थिए।

भूकम्प पीडित बालबालिकाका लागि शिक्षा कोष संकलन, चेपाङ संरक्षण केन्द्रमा सहयोग, नेपाली चलचित्रको प्रवर्द्धन, खेलकुद विकास तथा विद्यार्थीहरूका समस्यामा पहल लगायत सामाजिक उत्तरदायित्वका थुप्रै काम उनको सक्रियतामा सम्पन्न भएका छन्।
पाँचवटा मुख्य अठोट
उम्मेदवारी घोषणा गर्दै लामिछानेले आफ्नो कार्यकालका लागि निम्न पाँच प्रमुख विषयलाई प्राथमिकतामा राख्ने जनाएका छन्:
- संस्थागत सुदृढीकरण – एनआरएनए जापानलाई पारदर्शी, समावेशी र सबै नेपालीको साझा संस्था बनाउने।
- सामुदायिक कल्याण र सेवा – हटलाइन सेवा, घुम्ती शिविर, कानुनी सहायता र आपतकालीन सेवामा थप विस्तार।
- नेपालसँगको सम्बन्ध सुदृढीकरण – शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहकार्य प्रवर्द्धन।
- युवा तथा महिला सशक्तीकरण – क्षमता अभिवृद्धि, नेतृत्व विकास र उद्यमशीलताको प्रवर्द्धन।
- सांस्कृतिक प्रवर्द्धन र स्मार्ट एनआरएनए – प्रविधियुक्त सेवाहरू, नेपाल हाउस निर्माणको अघि बढाउने योजना।
“सुभाष छ, सम्भव छ” भन्ने नारासहित अघि
“‘सुभाष छ, सम्भव छ’ भन्ने नारासहित म यो अभियानमा अघि बढेको छु। यो चुनाव मेरो लागि पदको लागि मात्र होइन, समुदायको भविष्य निर्माणको लागि अवसर हो,” लामिछानेले भावुक हुँदै भने।

उनले थपे, “हिजोको कार्यक्रममा उपस्थित हुन नपाएका साथीहरूका लागि मैले वेवसाइट www.suvashlamichhane.com मा सम्पूर्ण प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेको छु।”
सामाजिक नेतृत्वमा लामिछानेको परिचय
हाल उपाध्यक्षको भूमिकामा रहेका लामिछाने नेपाली समुदायबीच सेवा, समर्पण र समावेशी नेतृत्वका लागि चिनिन्छन्। जापानभित्र नेपालीहरूको समस्या समाधानदेखि लिएर नेपालको आपतकालीन अवस्थाहरूमा सहयोग पुर्याउँदै आएका लामिछानेले संगठनको जिम्मेवारीलाई सदैव समुदायमुखी बनाउँदै आएका छन्।

उनको नेतृत्वमा एनआरएनए जापानले भूकम्प राहत, कोभिड–१९ महामारीमा सहयोग, विद्यार्थी सहायता, महिला हिंसा विरोधी अभियानजस्ता धेरै महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरेको इतिहास रहेको छ।
आगामी अभियानप्रति विश्वासको अपेक्षा
सभाको अन्त्यमा लामिछानेले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न, आवश्यक सुझाव दिन तथा भोटमार्फत विजय गराउन सबैमा हार्दिक अपील गरे।
“यो यात्रामा तपाईंहरूको साथ, माया, सद्भाव र समर्थन अपरिहार्य छ। तपाईंहरूको विश्वासको प्रत्युत्तर म इमान्दारिता र नतिजामूलक कार्यद्वारा दिनेछु,” उनले प्रतिवद्धता जनाए।