टोकियो, जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा लामो समयदेखि सक्रिय भूमिका निभाउँदै आउनुभएका सुभाष लामिछानेले संघको आगामी कार्यकालका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ। यसै सन्दर्भमा उहाँले एक विशेष ‘घोषणा तथा पत्रकार भेटघाट कार्यक्रम’ को आयोजना गर्दै आफ्नो भावी योजनाहरु सार्वजनिक गर्ने तयारी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक निमन्त्रणा जारी गर्दै लामिछानेले भन्नुभयो, “लामो समयदेखि एनआरएनए जापानका विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई अब नयाँ मोड दिनुपर्ने समय आएको छ। संस्थालाई नयाँ उचाइमा पुर्याउन सकिने मेरो योजना र प्रतिबद्धताका बारेमा तपाईहरुसँग प्रत्यक्ष संवाद गर्न चाहन्छु।”
उहाँले जापानभरि रहनु भएका आदरणीय अग्रज, पत्रकार, आफन्तजन, शुभचिन्तक, तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सुझाव, मार्गदर्शन र हौसला प्रदान गर्न आग्रह गर्नुभएको छ।
अंग्रेजी भाषामा समेत आफ्नो सन्देश व्यक्त गर्दै लामिछानेले उल्लेख गर्नुभयो:
“I’m officially announcing my candidacy for the leadership of NRNA Japan. Warmly inviting all respected seniors, friends, and well-wishers to the Declaration & Press Meet.”
सुभाष लामिछाने गैरआवासीय नेपाली समुदायमा लामो समयदेखि अग्रसर रहँदै आएका एक कुशल संयोजक, युवा नेतृत्वकर्ता तथा समाजसेवीका रुपमा चिनिन्छन्। उहाँको उम्मेदवारीले एनआरएनए जापानमा नयाँ उत्साह र छलफलको वातावरण सिर्जना गरेको छ।
कार्यक्रमको मिति, समय र स्थान छिट्टै औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी आयोजक पक्षले दिएको छ।