काठमाडौं, असार १८, २०८२ (जुलाई ३, २०२५)गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय तथा राष्ट्रिय समन्वय परिषद (एनसीसी) पदाधिकारी एवं अभियन्ताहरुले बद्री केसी नेतृत्वको समूहद्वारा एनसीसीहरूमा समानान्तर कमिटी गठन गर्दै विभाजनको प्रयास गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
बुधवार राजधानीमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष महेश कुमार श्रेष्ठले बद्री केसी समूहको अराजक गतिविधिले संस्थाको एकता र विश्वसनीयतामै संकट उत्पन्न भएको बताए।
सर्वोच्चको आदेश र वैधानिकता प्रष्ट
अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिबाट निर्वाचन सम्पन्न भइसकेको, परराष्ट्र तथा कानुन मन्त्रालयबाट वैधानिकता प्राप्त भइसकेको र सचिवालयमा प्रवेशमा रोक लगाउने कुनै आधार नरहेको स्पष्ट पारे। “यदि कसैले हाम्रो काम रोकेका छन् भने कार्यान्वयन निर्देशनालयबाट पत्र ल्याउनुहोस्, हामी मानीहाल्छौं,” उनले भने।
श्रेष्ठले हेमराज शर्माद्वारा विधानको हवाला दिँदै संघको वैधानिक नेतृत्वबारे भ्रम सिर्जना भइरहेको भन्दै अहिलेको अन्यौलपूर्ण अवस्थाको अन्त्य दुई-तीन हप्ताभित्र हुने विश्वास व्यक्त गरे।
समानान्तर कमिटीप्रति आपत्ति
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले एनसीसीहरू स्वायत्त संस्था भएको उल्लेख गर्दै बद्री केसी पक्षले चारवटा एनसीसी भंग गरेर नयाँ कमिटी गठन गर्ने कार्यको कडा विरोध गरे। “हामी फुटाउन र विभाजन गर्नु हुँदैन भन्ने पक्षमा छौं,” अध्यक्ष श्रेष्ठले भने, “एमआइएस सिस्टम पनि समस्या होइन, तर केसी समूहको नियन्त्रणमा रहेको हुँदा स्वीकृत गर्न सकिएन।”
श्रेष्ठले मध्यमार्गी समाधान खोजेर एनसीसीको अधिवेशन सर्ने सम्भावनालाई संस्थाको हितमा रहेको बताए। “बाध्यता सिर्जना नगरेर समाधान खोजौं। विधान संशोधन गरेर बाटो खुलाउन सकिन्छ,” उनले जोड दिए।
एनसीसी नेताहरुको आवाज
एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटाले आफ्नो समिति वैधानिक तरिकाले निर्वाचित भएको भन्दै बद्री केसी समूहलाई आफूहरुलाई बर्खास्त गर्ने अधिकार नरहेको बताइन्। “म चुनाव जितेर आएको व्यक्ति हुँ। कागजको खोस्टोले मलाई फाल्न सक्दैन। हामी स्वायत्त रूपमा काम गर्दैछौं,” उनले आक्रोश पोखिन्।
त्यस्तै, एनसीसी युएईका अध्यक्ष विकास शाहीले आफूहरूको वैधानिक संस्था रहेको भन्दै बद्री समूहको पत्र हाँसो लाग्दो र अवैध भएको टिप्पणी गरे। “हामीले चन्दा उठाएर सामाजिक कार्य गरेका छौं, नेपाल फेस्टिवल आयोजना गरेका छौं। वैधानिक समितिको मान्यता हटाउने अधिकार कसैलाई छैन,” उनले भने।
अभियानकर्ताहरुको एकता अपिल
एनआरएनएका वरिष्ठ अभियन्ता आरके शर्माले विगत सात वर्षदेखि नै एनसीसी नफुटाउन आग्रह गर्दै आएको स्मरण गर्दै भने, “तपाईंहरुको होडबाजीले कुनै गरिबको छोराले प्रहरीमा धाउनु पर्ने अवस्था नआओस्।” उनले सबै एनसीसीहरुलाई संयमता अपनाउन र केही समय प्रतीक्षा गर्न आग्रह गरे।
त्यस्तै, आइसीसी उपाध्यक्ष सुनिल साहले केही व्यक्तिले संस्था कब्जा गरेको आरोप लगाउँदै भने, “अहिलेसम्म हामीलाई कार्यालय हस्तान्तरण भएको छैन। अब उनीहरुले अफिस छाड्नुपर्छ।”
आइसीसी प्रवक्ता गंगाधर गौतमले सर्वोच्च अदालतको परमादेश अनुसार एनसीसीहरूलाई स्वतन्त्र वातावरणमा अधिवेशन गराइएको स्मरण गर्दै बद्री केसी र गौरी जोशीलाई सचिवालयको दुरुपयोग नगर्न आग्रह गरे।
पूर्व उपाध्यक्ष केशव पौडेलले एनआरएनए आन्दोलनले हाल गम्भीर मोड लिएको बताउँदै समानान्तर कमिटी गठन गर्नु ‘कालो दिन’ भएको टिप्पणी गरे।
सबै क्षेत्रका प्रतिनिधिको सहभागिता
कार्यक्रमको दोस्रो चरणमा विभिन्न महादेश तथा देशका एनसीसी अध्यक्ष र पदाधिकारीहरुले पनि धारणा राख्दै संस्थालाई फुटाउन खोजिएको क्रियाकलापको तीव्र आलोचना गरे।
वक्ताहरुमा डा. बलराम श्रेष्ठ (क्षेत्रीय संयोजक, एसिया प्रशान्त), प्रेम गुरुङ (युरोप), सुनिल घिमिरे (मध्यपूर्व), लोकेन्द्र ओली (एसिया प्रशान्त), बिपिन गुरुङ (कोरिया), भविन्द्र बस्नेत (थाइल्याण्ड), रणध्वज लिम्बु (कुवेत), प्रेम गाहा मगर (यूके), बलराम थापा (साउदी), भुवन वाग्ले (युएई), विकास उप्रेती (अमेरिका), डा. डिल्लीराम ढुंगाना (अमेरिका), सिरी प्रसाद गुरुङ, थर्क सेन (यूके), संजय ढकाल (थाइल्याण्ड), दिपेश खत्री (जर्मनी), लक्ष्मण खनाल (युएई), राजेन्द्र देवकोटा (कतार), दिलिप पोखरेल (अष्ट्रेलिया) लगायतले बोल्दै एनसीसी फुटाउने प्रयासको डटेर प्रतिकार गर्नुपर्नेमा जोड दिए।
निष्कर्ष
कार्यक्रममा सहभागी सबै पदाधिकारी, अभियन्ता तथा एनसीसी प्रतिनिधिहरूले एनआरएनएलाई एक ढिक्का बनाउँदै लैजान कानुनी, संस्थागत र नैतिक रूपमा प्रयास गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले बद्री केसी समूहद्वारा भइरहेको समानान्तर गतिविधि बन्द गरिनु पर्ने, सचिवालयको कब्जा तत्काल अन्त्य हुनुपर्ने, र सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने साझा धारणा व्यक्त गरे।