बाल्टिमोर, अमेरिका —गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का अध्यक्ष महेश कुमार श्रेष्ठको सम्मानमा आज बाल्टिमोरमा भव्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना एनआरएन राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित अध्यक्ष श्रेष्ठलाई विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वागत तथा शुभकामना व्यक्त गरे।
नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट शुभकामना मन्तव्य दिँदै प्रवासी नेपालीहरूबीचको एकता, सहकार्य र मातृभूमिप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको थियो।
कार्यक्रममा लामो समयदेखि एनआरएन अमेरिकाको नाममा अलग गतिविधि गर्दै आएका सूर्य लम्साल अध्यक्ष रहेको समूहले आजदेखि आफूहरू एनआरएनए एनसीसी अमेरिकामा पूर्ण रूपमा समाहित भएको घोषणा गरेका छन्।
“अबदेखि हामीबीचको गलतफहमीको पटाक्षेप भएको छ। हामी एउटै छाता मुनी सहकार्य गरेर अगाडि बढ्छौँ,” लम्सालले भने।
कार्यक्रमको सभापतित्व गरिरहेका एनसीसी अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले पनि आफुहरूबीचको एकता प्रक्रियाले सार्थक रूप लिन थालेको र यो प्रवासी नेपाली समाजमा सकारात्मक सन्देश भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा एनआरएनए आईसीसीका पदाधिकारीहरू, एनसीसी अमेरिका, एनआरएनए मेरिल्याण्ड च्याप्टर, नेपाली जनसम्पर्क समिति अमेरिका तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस एकता घोषणासँगै एनआरएनए अमेरिका भित्र लामो समयदेखि देखिएको विभाजन अन्त्य हुँदै नयाँ युगको सुरुवात भएको सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।