काठमाडौं, जुन २ —गैरआवासीय नेपाली संघ (एनआरएनए) का हालै निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा एक उच्चस्तरीय टोलीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल तथा डेपुटी गभर्नर निलिमा ढुंगानासँग ऐतिहासिक भेटघाट तथा “Meet & Greet” कार्यक्रम सम्पन्न गरेको छ।

उक्त भेटमा एनआरएनए उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, पूर्वअध्यक्ष विनोद कुँवर, पूर्वमहासचिव जानकी गुरुङ, पूर्वअध्यक्ष रविना थापा लगायतका विशिष्ट पदाधिकारीहरू समेत सहभागी थिए। कार्यक्रममा वैदेशिक लगानी प्रवाह, उद्योग स्थापनाको सम्भाव्यता, युवा रोजगार सृजना, बैँकिङ प्रणालीको सरलीकरण लगायत विविध समसामयिक विषयमा गहन संवाद भएको थियो।
लगानीमैत्री वातावरणका लागि साझा पहल
एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले गैरआवासीय नेपालीहरूको भावनालाई सम्मान गर्दै नेपालमै उद्योग खोल्न, रोजगारी सिर्जना गर्न र वैदेशिक मुद्राको स्थायित्व कायम गर्न सकिने विभिन्न उपायहरू प्रस्तुत गरे। उनले भने, “हामीसँग पूँजी, प्रविधि, र विश्वव्यापी नेटवर्क छ। यदि सरकारले नीतिगत स्थिरता र सहजता दिन सक्यो भने, एनआरएनहरूले नेपाललाई रोजगारी उत्पादन गर्ने केन्द्रमा परिणत गरिदिन्छन्।”

यसै सन्दर्भमा गभर्नर डा. पौडेलले एनआरएनहरूप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै भने, “देशको समृद्धिमा एनआरएनहरूको भूमिकालाई हामीले कदर गर्छौं। लगानी सुरक्षाका उपायहरू, दोहोरो कर हटाउने व्यवस्था, पूँजी फर्काउने प्रक्रिया सहज बनाउने विषयमा हामी गम्भीर छौं।”
युवाहरूका लागि नयाँ अवसर
भेटमा नेपाली युवाहरूको भविष्य, उद्यमशिलता, स्टार्टअप प्रवर्द्धन तथा प्रविधिको प्रयोगमार्फत स्वदेशमै अवसर सिर्जनाको विषयमा समेत केन्द्रित छलफल भएको थियो। उपाध्यक्ष मनोज श्रेष्ठले भने, “हामीले प्रवासी अनुभवलाई देशमा उपयोग गरेर युवालाई रोजगारी होइन, रोजगारदातामा बदल्नुपर्छ।”

पूर्वमहासचिव जानकी गुरुङले महिला उद्यमशिलता, आर्थिक समावेशिता र सामाजिक न्यायको विषय उठाउँदै, एनआरएनएले स्थायी सामाजिक रूपान्तरणका लागि लामो समयदेखि काम गरिरहेको जानकारी दिइन्।
टिप्पणी खण्डमा सुझाव दिन सबैलाई आग्रह
उक्त भेटघाटपछि सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै, सबै नेपालीलाई देशको विकास, नीति निर्माण र युवाको सक्रिय सहभागिता कसरी बढाउन सकिन्छ भन्नेबारे टिप्पणी खण्डमा सुझाव दिन अनुरोध गरिएको छ।
गभर्नरलाई बधाई तथा शुभकामना
कार्यक्रमको अन्त्यमा, एनआरएनए परिवारका तर्फबाट डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएकोमा हार्दिक बधाई दिइएको छ। डेपुटी गभर्नर निलिमा ढुंगानालाई समेत सफल कार्यकालको शुभकामना दिँदै एनआरएनएले सहकार्यका ढोका अझ खुला रहने प्रतिबद्धता व्यक्त गर्यो।