न्युयोर्क, अमेरिका | जेठ १०, २०८२ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का नवनिर्वाचित सहकोषाध्यक्ष कृष्ण पोखरेल अमेरिका आइपुगेका छन्। न्यूयोर्कस्थित जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा उनले “सुरक्षित अवतरण” गरेपछि सामाजिक सञ्जालमार्फत समस्त शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आफ्नो हालको भ्रमण “सफल र अविस्मरणीय” भएको बताएका छन्।
पोखरेलले केही दिनअघि सम्पन्न एनआरएनए एकता महाधिवेशनमा सर्वसम्मत रूपले सहकोषाध्यक्ष पदमा निर्वाचित भइ संगठनभित्रै नयाँ ऊर्जा, उत्साह र ऐक्यबद्धता स्थापित गर्न सफल भएका थिए।नेपाल भ्रमणका क्रममा उनले विभिन्न मन्त्रीहरू, प्रमुख सचिवहरू, महापौरहरू तथा राजनीतिक नेताहरूसँग भेटघाट गर्दै एनआरएनए नागरिकताको निरन्तरताका लागि बलियो पैरवी गरे।
“एनआरएनए नागरिकता हाम्रो प्रमुख एजेण्डा हो,” पोखरेलले बताए। “यो विषयमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै हामीले निरन्तर दबाब र संवादको प्रक्रिया अघि बढाएका छौं। म विश्वास गर्छु, अबको एनआरएनए अझै सशक्त, समावेशी र सम्पूर्ण नेपालीको साझा मञ्च बन्नेछ।”
उनको भ्रमण अवधिभर भव्य स्वागत कार्यक्रम, शुभकामना आदानप्रदान तथा रणनीतिक छलफलहरू भएका थिए। पोखरेलले गैरआवासीय नेपालीको हकहितका लागि सबै नेपालीहरू एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “हामी सबै मिलेर सशक्त र महान एनआरएनए निर्माण गरौं।”
उनको अमेरिका आगमनले एनआरएनए अमेरिकामा समेत नयाँ उत्साह भरिएको छ। संघको आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पोखरेलको अनुभव, नेतृत्व र दूरदर्शिताले थप ऊर्जा दिने विश्वास व्यक्त गरिएको छ।
सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन् —“म आराम साथ न्यूयोर्क आइपुगेको छु। सबैमा हार्दिक धन्यवाद! यो यात्रा साँच्चै सफल र स्मरणीय रह्यो।”उनको यो अभिव्यक्तिले मातृभूमि र प्रवासबीचको दूरीलाई सेवा, समर्पण र नेतृत्वको पुलमार्फत नजिक्याउने एनआरएन अभियानमा थप ऊर्जा थपिएको संकेत गर्दछ।
कृष्ण पोखरेल को हुन्?
कृष्ण पोखरेल एनआरएन अभियानका सक्रिय अभियन्ता हुन्। दीर्घ अनुभव, सशक्त नेतृत्वशैली र पारदर्शी आर्थिक व्यवस्थापनमा उनले उत्कृष्ट छवि बनाएका छन्। सहकोषाध्यक्षको रूपमा उनले एनआरएनएलाई विश्वव्यापी रूपमा आर्थिक रूपमा सुदृढ र विश्वसनीय संस्था बनाउन तत्परता देखाइरहेका छन्।
एकताबाट बलियो एनआरएनए निर्माण गर्ने दृढता
पोखरेलले अन्ततः सबैमा पुनः धन्यवाद दिँदै लेखेका छन् —“पुनः एकपटक सम्पूर्ण साथीहरूलाई तपाईंहरूको विश्वास, साथ र हौसलाका लागि हार्दिक आभार प्रकट गर्दछु।”