एस नेपाल न्युज, जेठ ९ ।गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचार प्रकरणमा मन्त्रालय र यसको नेतृत्वको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। शनिबार सहसचिव छवि रिजालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयप्रति सार्वजनिक रुपमा आएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
हालै सार्वजनिक विभिन्न सञ्चारमाध्यमहरूमा त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहने युवाहरूबाट अवैध रकम असुली गरिएको आरोपमा गृहमन्त्री रमेश लेखकसमेतको संलग्नता रहेको आशंका गरिएको थियो। उक्त आशंकासहितका समाचारप्रति आपत्ति जनाउँदै गृह मन्त्रालयले मन्त्रालयको नेतृत्व यस्ता कार्यमा संलग्न नरहेको तथा नरहने कुरा स्पष्ट पारेको हो।
विज्ञप्तिमा भनिएको छ, “त्यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं।” साथै, यस्ता विषयमा तथ्यपरक र सत्यता आधारित विवरण मात्र प्रकाशन र प्रसारण गर्न सञ्चारमाध्यमहरूप्रति पनि आग्रह गरिएको छ।
शान्ति सुरक्षाका लागि गृह प्रशासन प्रतिबद्ध
विज्ञप्तिमा गृह मन्त्रालय शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न निरन्तर क्रियाशील रहेको र यस्ता गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउँदै आएको उल्लेख छ। मन्त्रालयले गृह प्रशासनलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने कार्यमा कठोर कदम चालेको स्पष्ट पारेको छ।
अनुसन्धान जारी, पूर्ण सहयोगको प्रतिबद्धता
विमानस्थलको अध्यागमन कार्यालयमा पछिल्लो समयमा काम कारबाहीको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको जानकारी दिँदै गृह मन्त्रालयले अनुसन्धानमा आवश्यक पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ।
“अनुमान वा आशंकाका आधारमा समाचार प्रकाशन गर्नुभन्दा सत्यतथ्य र अनुसन्धानपछिको निष्कर्षका आधारमा मात्र समाचार लेख्नुपर्ने आवश्यकता अझै पनि छ,” विज्ञप्तिमा भनिएको छ।
गृह मन्त्रालयको तर्फबाट जारी उक्त विज्ञप्तिमा मन्त्रालय र नेतृत्वलाई बदनाम गराउने आशयका समाचारप्रति स्पष्ट आपत्ति जनाउँदै, यस्ता गतिविधिमा सत्य विवरणमात्र सार्वजनिक गर्न आग्रह गरिएको छ।
© एस नेपाल न्युज, २०८२ जेठ ९