काठमाडौं, ९ जेठ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि महानगरले अघि सारेको ‘फल्चा निर्माण अभियान’लाई एक ऐतिहासिक कदमका रूपमा उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक मन्तव्य व्यक्त गर्दै मेयर शाहले फल्चाहरूलाई केवल तस्बिर र संग्रहालयमा सीमित नराखी वर्तमान आधुनिक विकासको गति सँगसँगै संरक्षण, उपयोग र प्रवर्द्धन गर्नु अनिवार्य रहेको बताए। उनले भने, “मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन्। त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा यात्रुहरुलाई हाम्रो आफ्नै मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो।”
उनका अनुसार अहिले सोही परिकल्पनाअनुसार कामहरू अघि बढिरहेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा निर्माणका लागि बजेट विनियोजन गर्दै आएको र हालसम्म महत्वपूर्ण प्रगति हासिल गरिसकेको जानकारी मेयर शाहले दिएका छन्।
फल्चा: एक सांस्कृतिक केन्द्र
मेयर शाहका अनुसार फल्चा काठमाडौं उपत्यकाको जीवनशैली र संस्कृति सँग घनिष्ट रूपमा जोडिएको संरचना हो। नेवा संस्कृतिमा प्राचीन कालदेखि सामाजिक एकताको केन्द्रका रूपमा विकसित फल्चाहरू विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णयको थलो भएका छन्। चैत्य वा पाटीसँग जोडिएका यी फल्चाहरूमा पूजा, भजन, पर्व तयारी जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन हुने गर्दथ्यो।
साथै तीर्थयात्री र यात्रुहरूका लागि विश्रामस्थलका रूपमा काम गर्ने फल्चाहरू शारीरिक मात्र होइन, मानसिक थकान हटाउने थलो पनि बन्दै आएको उल्लेख गर्दै मेयर शाहले ती संरचनाहरूले पुस्तान्तरण प्रक्रियालाई समेत सहज बनाएको बताए।
फल्चा निर्माणमा तीव्रता: आठवटा निर्माण सम्पन्न, थप २४ को योजना
विजुली बजार क्षेत्रमा दुईवटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेको र माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चाको निर्माण प्रक्रियामा रहेको जानकारी दिँदै मेयर शाहले तीमध्ये आठवटा फल्चा बनिसकेको र बाँकी माघ २०८२ भित्र सम्पन्न हुने उल्लेख गरे।
उक्त सबै फल्चा निर्माणका लागि कुल रु. ९ करोडको बजेट विनियोजन गरिएको जानकारी पनि उनले दिएका छन्।
आधुनिक सौन्दर्य र पहुँचलाई ध्यान दिइएको संरचना
‘कंक्रीटाइजेसन’ले छोपेको काठमाडौंमा मौलिकता झल्काउने झिंगटीको छानो, बुट्टेदार अग्राखको काठ, थामलगायतका परम्परागत कलात्मक डिजाइनसहितको फल्चा निर्माणले शहरलाई सांस्कृतिक सौन्दर्यले सजाउने अपेक्षा गरिएको छ।
फल्चाको डिजाइन दुईतर्फी विश्राम गर्न मिल्ने, बीचमा पैदल आवतजावत सहज हुने, अपाङ्गमैत्री तथा शहरको सौन्दर्यमा टेवा पुर्याउने खालको बनाइएको छ।
मौलिक संस्कृति उजागर गर्ने प्रयास
मेयर शाहको भनाइमा फल्चा निर्माणको यो प्रयास काठमाडौंको मौलिक संस्कृति र सभ्यतालाई उजागर गर्ने दिशामा एउटा सशक्त कदम हो। उनले विश्वास व्यक्त गर्दै भने, “यस्ता कार्यले काठमाडौंको मौलिक संस्कृतिलाई थप उजागर गर्न मद्दत पुग्नेछ।”
फल्चाहरूको संरक्षण र पुनःप्रयोगको यो अभियानले शहरीकरणको दबाबमा हराउँदै गएका सांस्कृतिक संरचनालाई पुनर्जीवन दिने काम गर्नेछ भन्ने विश्वास मेयर शाहले व्यक्त गरेका छन्।