काठमाडौं, वैशाख १२ –नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार गर्दै प्रहरी संगठनका गतिविधि, चुनौती, उपलब्धि तथा आगामी योजना सम्बन्धी विविध विषयमा विस्तृत जानकारी दिनुभएको छ।
साक्षात्कारको प्रारम्भमा एसएसपी थापाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो १० महिनामा नेपाल प्रहरीले सम्पादन गरेका प्रमुख कार्यहरू तथा उपलब्धिहरूको प्रस्तुति गर्नुभयो।
मानवस्रोत र संगठन सुदृढीकरण
उहाँले मानवस्रोत विकास तथा स्रोत साधन व्यवस्थापनका सन्दर्भमा प्रहरी इकाईहरूको संख्या, अस्थायी प्रहरी पोष्टहरूमा कार्यरत जनशक्ति, नयाँ इकाई स्थापना तथा स्तरवृद्धिको माग र अवस्था सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्नुभयो।
अपराध अनुसन्धान र तथ्याङ्कीय विश्लेषण
साक्षात्कारमा एसएसपी थापाले अपराध अनुसन्धान सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो,
“कर्तव्य ज्यान, आत्महत्या, जबरजस्ती करणी, लागूऔषध कारोबार, साइबर अपराध लगायतका घटनामा प्रदेशगत तुलनात्मक विश्लेषणले सुरक्षा व्यवस्थाको वर्तमान अवस्था र आगामी रणनीति निर्धारणमा सघाउनेछ।”
उहाँका अनुसार निर्णय कार्यान्वयन, मानव बेचबिखन, बालबालिका खोजतलास तथा घरेलु हिंसाका घटनामा प्रहरीको सक्रियता बढ्दो छ। प्रहरीको प्रभावकारिता नागरिकहरूले उजुरी दिने दरमा वृद्धि भएर पुष्टि भएको पनि उहाँले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय समन्वय र एनसिबी काठमाडौंको भूमिका
एसएसपी थापाले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका क्षेत्रमा एनसिबी काठमाडौं (Interpol National Central Bureau) को भूमिकाबारे प्रकाश पार्दै विभिन्न देशसँगको समन्वयमा गरिएको फौजदारी अनुसन्धान, प्रतिवेदन आदानप्रदान र पक्राउ परेका अभियुक्तहरूको प्रत्यर्पणसम्बन्धी गतिविधि विवरण प्रस्तुत गर्नुभयो।
शान्ति सुरक्षा, ट्राफिक र विपद् व्यवस्थापन
साक्षात्कारमा सवारी दुर्घटनासम्बन्धी तथ्याङ्क, ट्राफिक कारबाही, विपद् व्यवस्थापन, राजस्वमा प्रहरी योगदान, नागरिकसँगको सम्बन्ध र प्रहरी सेवा प्रवाहका विविध पक्षबारे पनि जानकारी दिइयो।
“प्रहरीको भूमिका केवल अपराध नियन्त्रणमा सीमित छैन,” – एसएसपी थापाले भने, “शान्ति, सुरक्षा, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन र जनसम्पर्कका हरेक क्षेत्रमा सक्रियता बढाइएको छ।”
जनचेतना, विश्वसनीयता र पारदर्शिता
उहाँले सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा प्रहरी प्रतिको नागरिकको विश्वास अभिवृद्धि भएको उल्लेख गर्दै भन्नुभयो,
“जनचेतनामा वृद्धि र प्रहरीको पेशागत सक्रियता एवं पारदर्शिताका कारण उजुरी दर्ता दर उल्लेखनीय रूपमा बढेको देखिन्छ।”
प्रहरी संगठनले आफ्नो सदस्यहरूको मनोबल अभिवृद्धि गर्न पुरस्कार प्रणाली, अभिमुखीकरण तालिम र व्यावसायिकतालाई प्रवर्धन गर्दै आएको पनि उहाँको भनाइ थियो।
सञ्चारकर्मीहरूसँग सहकार्यको प्रतिबद्धता
कार्यक्रमको समापनमा एसएसपी थापाले सञ्चारकर्मीहरूको मूल्यवान सुझाव र रायप्रति आभार व्यक्त गर्दै प्रहरी र मिडियाबीचको सहकार्य अझ मजबुत बनाइने प्रतिबद्धता जनाउनुभयो।
“संगठनको सुदृढीकरण, जवाफदेहीता र जनमैत्री सेवा प्रवाहका लागि सञ्चारकर्मीहरूसँगको सहकार्य अति आवश्यक छ,” – उहाँले भन्नुभयो।
साक्षात्कार कार्यक्रममा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादक, पत्रकार तथा प्रहरी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित सञ्चारकर्मीहरूले विभिन्न समसामयिक मुद्दामा प्रश्न उठाएका थिए, जसको व्यावसायिक र तथ्यपरक जवाफ दिँदै प्रहरी संगठनको दृष्टिकोण स्पष्ट पारिएको थियो।