काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाको ५६ औं वर्ष पूरा गरी ५७ औं वर्षमा प्रवेश गरेको अवसरमा ‘प्रतिबद्धता सन्देश’ सार्वजनिक गर्दै आगामी दिनमा बीमा क्षेत्रलाई अझ सुदृढ, पारदर्शी, पहुँचयुक्त र विश्वासिलो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले हस्ताक्षरित सन्देशमा उनले बीमा क्षेत्रको विविध पक्षको समग्र सुधार, वित्तीय पहुँच विस्तार, बीमा शिक्षाको वृद्धि, बीमित जनसंख्याको पहुँच तथा नवीनतम प्रविधिको प्रयोगमा जोड दिएका छन्।
सन्देशमा भनिएको छ, “बीमा क्षेत्रको सुव्यवस्थित, नियमित, पारदर्शी तथा विश्वासिलो बनाउने, नागरिकलाई गुणस्तरीय र भरपर्दो बीमा सेवा उपलब्ध गराउने, बीमीतको हकहित सुरक्षित गर्ने तथा बीमाको पहुँचलाई देशभर विस्तार गर्ने लक्ष्यसहित प्राधिकरण क्रियाशील रहँदै आएको छ।”
बीमा व्यवसाय विस्तार, बीमा शिक्षाको वृद्धि, बीमा प्रदाय, बीमीत जीवनको सुरक्षामा विशेष ध्यान दिइने स्पष्ट गरिएको छ। हाल देशको बीमा क्षेत्रबाट जम्मा ४४.६६ प्रतिशत जनसंख्या मात्र समेटिएको उल्लेख गर्दै उक्त प्रतिशतलाई बढाएर ६२.५८ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। यसका लागि जनचेतना, सेवा प्रवाह र बीमाको पहुँचमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ।
सरकारी तथा निजी क्षेत्रका संरचनामा बीमाको पहुँच विस्तार गर्दै, सामाजिक सुरक्षा तथा दीर्घकालीन वित्तीय सुरक्षालाई बलियो बनाउने दिशामा प्राधिकरणको योजना रहेको बताइएको छ।
अध्यक्ष ओझाले बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै, डिजिटलमार्फत बीमा सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने र यसका लागि नीति तथा संरचना सुधारमा जोड दिनुपर्ने उल्लेख गरेका छन्।
सन्देशको अन्त्यमा अध्यक्ष ओझाले भनेका छन्, “अझ सशक्त, समृद्ध र विश्वसनीय बीमा व्यवस्थापन निर्माण गर्दै राष्ट्रको वित्तीय सुरक्षामा योगदान पुर्याउन प्राधिकरण क्रियाशील रहने छ। सरकार, बीमाकर्ता तथा सरोकारवालाहरूसँग समन्वय र सहकार्यमा अघि बढ्नेछ।”