कञ्चनपुर, जेठ १ — निर्मला पन्त हत्या प्रकरणमा न्यायका पक्षधर भई लामो समयदेखि आवाज उठाउँदै आएका सामाजिक अभियन्ता खेम भण्डारीमाथि कञ्चनपुर जिल्ला अदालतले एक महिनाको कैद सजाय र जरिवाना फैसला गरेको छ। किरणराज बिस्ट वादी रहेकाे उक्त मुद्दामा अदालतको फैसलापछि भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै फैसलाको सम्मान गर्ने तर यसको विरुद्धमा माथिल्लो अदालतमा जाने तयारी सुरु गरेको जानकारी गराएका छन्।
भण्डारीले लेखेका छन्,
“आज जिल्ला अदालतले किरणराज बिस्ट वादी रहेको मुद्दामा मलाई एक महिना कैद र जरिवाना गरेको छ। अदालतको फैसलाको सम्मान गर्दछु। तर, यो फैसलाविरुद्ध तत्काल माथिल्लो अदालतमा जाने तयारी सुरु गरेको छु।”
उनी थप लेख्छन्,
“निर्मलाको न्यायको लडाइँ जीवनभर रहनेछ भन्ने पहिल्यै घोषणा गरिसकेको स्मरण गराउन चाहन्छु।”
न्यायका लागि सतत् संघर्ष
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणलाई लिएर राज्य संयन्त्रमाथि प्रश्न उठाउँदै आएका भण्डारीले लामो समयदेखि पीडित पक्षका लागि न्याय माग गर्दै दबाबमूलक अभियान चलाउँदै आएका छन्। सो क्रममा उनले विभिन्न सरकारी अधिकारीहरूमाथि प्रश्न उठाएका थिए, जसका कारण उनीमाथि कानुनी कारबाहीका मुद्दा दर्ता भएका थिए।
किरणराज बिस्ट, जो घटनाको समयमा कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी थिए, उनीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा भण्डारीमाथि मुद्दा चलाइएको हो।
सामाजिक संजालमा समर्थन
भण्डारीको पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। धेरैले उनलाई “सत्यको पक्षमा बोल्ने साहसी आवाज” भन्दै समर्थन जनाएका छन् भने केहीले न्याय प्राप्तिको बाटोमा कानुनी प्रक्रिया पालना गर्नु जरुरी भएको उल्लेख गरेका छन्।
निर्मलाको न्याय : अनवरत् अभियान
खेम भण्डारीको भनाइ अनुसार, निर्मलाको न्यायका लागि आफ्नो लडाइँ कुनै फैसलाले थामिँदैन। “यो जीवनभर चल्ने संघर्ष हो,” भण्डारीले लेखेका छन्।
स्मरण रहोस्, सन् २०१८ मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले देशभर व्यापक आक्रोश पैदा गरेको थियो। पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन।
भण्डारीले मुद्दाको फैसला विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने तयारी गरेको जनाएसँगै यो मुद्दाले अब नयाँ कानुनी चरणमा प्रवेश गर्न लागेको छ।