काठमाडौँ — उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र र विदेशमा बसोबास गर्ने नेपालीहरूको (एनआरएन) सहभागिता अभिवृद्धि गर्न आफू कटिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। विहीबार उर्जा मन्त्रालयमा भएको विशेष भेटवार्तामा मन्त्री खड्काले यो अभिव्यक्ति दिनुभएको हो।

उक्त संयुक्त छलफलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र ढकाल, संघीय सांसद देवी भट्टचन तथा गण्डकी प्रदेश सांसद जीत शेरचन सहभागी हुनुहुन्थ्यो।
नीजि क्षेत्रको सहभागीता र एनआरएनएसँग सहकार्यमा जोड
मन्त्री खड्काले आफूले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेयता जलविद्युत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्दै, “नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति स्पष्ट छ। अब सहकार्य, समन्वय र सम्भावनाको समय हो,” भन्नुभयो।
उहाँले एनआरएनए अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिंदै नेपालको समग्र विकासमा एनआरएनहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। “विदेशमा सिकिएका सीप, ज्ञान र पुँजीलाई मातृभूमिको सेवामा प्रयोग गर्ने अवसर यही हो,” मन्त्री खड्काले भन्नुभयो।

“अब कुरामा होइन, काम तिर!”
उक्त अवसरमा एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा “अब कुरामा होइन, काम तिर!” भन्ने सन्देशसहित उक्त भेटको सार झल्काउने पोस्ट गर्दै लेख्नुभएको छ:
“उर्जा मन्त्री दीपक खड्का र FNCCI का अध्यक्ष चन्द्र ढकालसँग नेपालको जलविद्युत् विकासका सन्दर्भमा गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा सरकारबीचको सहकार्यका विषयमा गहन छलफल भयो। साथै संघीय सांसद देवी भट्टचन तथा गण्डकी प्रदेश सांसद जीत शेरचनको पनि उपस्थिति रह्यो।”
श्रेष्ठले नीतिगत सुधारमार्फत एनआरएनले सिकेका सीप र पुँजीको प्रयोग गरेर नेपालको जलविद्युत क्षेत्रमा उल्लेखनीय योगदान दिन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले निकट भविष्यमै जलविद्युत परियोजनामा लगानी गर्ने योजनाबारे जानकारी दिनुभयो।
FNCCI अध्यक्ष ढकालको सुझाव
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उर्जा क्षेत्रको अपार सम्भावना औँल्याउँदै भने, “नीति नियम सरल र स्पष्ट हुनुपर्छ, लगानीकर्ता सहज वातावरण खोज्छन्। सरकारको सहकार्य र एनआरएनको अनुभवसँग मिलेर देशको उर्जा भविष्य उज्यालो बनाउन सकिन्छ।”
संघीय सांसदहरूको सहभागिता
संघीय सांसद देवी भट्टचन र गण्डकी प्रदेश सांसद जीत शेरचनले पनि छलफलमा आफ्ना सुझाव राख्दै गैरआवासीय नेपालीहरूको सीप, स्रोत र सोचलाई नेपालको विकासमा उपयोग गर्न सकिने कुरामा जोड दिनुभयो।
दिगोw विकासको दिशामा कदम
यस प्रकारको उच्चस्तरीय छलफलले उर्जा क्षेत्रमा सरकार, निजी क्षेत्र र एनआरएनबीचको सहकार्यलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। जलविद्युत् नेपालको समृद्धिको मूल आधार हो भन्ने सन्देशसहित यो भेटले “अब भाषण होइन, समाधानको अभ्यास” तर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा दिएको छ।
यो भेटवार्ता नीति निर्माण, लगानी प्रवाह र दीर्घकालीन सहकार्यको ढोका खोल्ने दिशामा ‘दामी’ प्रयासको रूपमा लिइएको छ।