धनकुटा,जेठ १ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित भवनहरूको एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ। बिहीबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित आईजीपी थापाले कार्यालय भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघरलगायत संरचनाहरूको उद्घाटन गर्नुका साथै भवनहरू अवलोकन पनि गर्नुभयो।

आईजीपी थापाले उद्घाटनपश्चात् वृक्षारोपण गर्दै हरित वातावरण प्रवर्द्धनमा योगदान दिन प्रहरी संगठन प्रतिबद्ध रहेको सन्देश दिनुभयो। उहाँले प्रहरी सेवाको गुणस्तर वृद्धिमा पूर्वाधारको विकास महत्वपूर्ण हुने उल्लेख गर्दै, यो योजनाले धनकुटा जिल्ला प्रहरीको सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कदर तथा समाजसेवामा योगदान
कार्यक्रममा थापाले भवन निर्माणमा योगदान गर्ने विभिन्न निकाय र व्यक्तित्वहरूलाई कदरपत्र, प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो। साथै उहाँले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटामा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रहरी संगठनको संवेदनशीलता प्रस्तुत गर्नुभयो।

प्रहरी सेवा : विश्वास र नागरिकमैत्रीता
आईजीपी थापाले आफ्नो सम्बोधनमा नेपाल प्रहरी सबैको “आशा र भरोसाको केन्द्र” भएको उल्लेख गर्दै सेवा प्रवाहलाई शिष्ट, सभ्य र व्यावसायिक बनाउनेतर्फ उन्मुख रहनु पर्नेमा जोड दिनुभयो। उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री व्यवहार र जवाफदेहितापूर्ण कार्य सम्पादनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

शान्ति-सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान र सामाजिक विकृति न्यूनीकरणमा प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउन सबै स्थानीय तहहरूसँग समन्वय र सहकार्यको खाँचो औंल्याउँदै, आत्महत्या, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, घरेलु हिंसा र महिला, बालबालिका, ज्येष्ठ नागरिकप्रतिको अपराध नियन्त्रणमा पनि प्रहरीले संवेदनशील रहनुपर्नेमा थापाले जोड दिनुभयो। विपद् व्यवस्थापनमा समेत प्रहरी सक्रियताका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

अतिथिहरूको सहभागिता
समारोहमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले शुभकामना मन्तव्य राख्दै प्रहरी संगठनको यो पहलप्रति प्रशंसा व्यक्त गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य दिनुभयो। प्राविधिक पक्षको प्रतिनिधित्व गर्दै प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माणसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो।

निर्माण लागत र स्रोत
नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपैयाँ ८५ पैसाको लागतमा यी भवनहरूको निर्माण सम्पन्न भएको हो।

सहभागिता
समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।