काठमाडौं, बैशाख ३० – राजधानीस्थित ठमेलमा आर्य होटेल एण्ड स्पामा आयोजित एक भव्य समारोहमा एनआरएनएका पूर्व अध्यक्ष तथा चर्चित व्यवसायी भवन भट्टले दिएको प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई विशेष बनाएको छ। उनले कार्यक्रमका प्रमुख आकर्षण सञ्चालक कृष्णप्रसाद सिम्खडालाई हार्दिक शुभकामना दिँदै स्वदेशमै उद्यमशीलताको उज्यालो उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरे।
“कृष्णजीजस्तो युवाले पर्यटन तथा आतिथ्य क्षेत्रलाई समृद्ध बनाउन उठाएका कदमहरू सराहनीय छन्,” भट्टले भने, “हामीले देशमै अवसरहरू खोज्नुपर्छ र सम्भावनालाई यथार्थमा रूपान्तरण गर्नुपर्छ।”
कार्यक्रममा भट्टले आगामी योजना र नयाँ सम्भावनाहरूको बारेमा समेत जानकारी गराउँदै, विवि एयरवेज़ नामक नयाँ घरेलु विमान सेवा चाँडै सञ्चालनमा ल्याउने घोषणा गरे। उनले भने, “विवि एयरवेज़ नेपालको आन्तरिक हवाई यात्रामा नयाँ अनुभव दिनेछ। सेवा, समयपालन र सुरक्षामा कुनै सम्झौता हुनेछैन।”
उनका अनुसार प्रारम्भिक चरणमा काठमाडौं, पोखरा, विराटनगर, भैरहवा लगायत मुख्य शहरहरूमा सेवा सुरू गरिनेछ भने दोस्रो चरणमा पर्यटकीय गन्तव्यहरूमा विशेष उडान पनि थपिनेछ।
भट्टले विदेशमा रहेका नेपालीहरूलाई देशमै लगानी गर्न आह्वान गर्दै भने, “अब समय आएको छ– हामीले मात्र होइन, हाम्रो पुस्ताले नेपाललाई विश्वको समृद्ध राष्ट्र बनाउने।”
कार्यक्रममा आर्य होटेल एण्ड स्पाका संचालक कृष्णप्रसाद सिम्खडाले भट्टलाई धन्यवाद दिँदै भने, “भवन सरजस्ता व्यक्तित्वहरूको आशिर्वाद र सल्लाहले हामी जस्ता नयाँ पुस्ताका व्यवसायीहरू अझ हौसला पाउँछौं।”
कार्यक्रममा उपप्रधानमन्त्री, विभिन्न उद्योगी, समाजसेवी, पत्रकार तथा विदेशबाट फर्केका उद्यमीहरूको उल्लेखनीय उपस्थिति थियो। भट्टको मन्तव्यले विशेषतः स्वदेशमै केही गर्ने सोच राखेकाहरूलाई थप प्रेरणा र उत्साह दिएको थियो।