लेखक: एचबी ताम्राकार
सधैंजसो व्यस्त र उज्यालो रहने ठमेलको मुटुमा अवस्थित होटल Timber House को त्यो एक साँझ मेरो लागि बिर्सनै नसकिने बन्यो। पहिलोपटक प्रत्यक्ष भेट भयो — नेपाल र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरिरहेका एक ख्यातिप्राप्त व्यवसायी र अमेरिका लागि नेपाल सरकारद्वारा नियुक्त महावाणिज्यदूत ऋषि ढकाल सरसँग।

भेट मात्र हैन, करिब एक घण्टा लामो भलाकुसारी पनि भयो। यति छोटो समयमा उहाँको गहिरो सोच, गहन अनुभूति र देशप्रतिको निष्ठा देखेर म भित्रभित्रै भावुक भएँ।
देशको मायाले गढिएको व्यक्तित्व — ऋषि ढकाल
ऋषि सरसँगको संवाद धेरै पक्षमा केन्द्रित रह्यो — अमेरिका र नेपालका सम्बन्ध, नेपाली उत्पादनलाई विश्व बजारमा कसरी प्रवर्धन गर्ने, र नेपालमा भइरहेको सूक्ष्म तर सकारात्मक परिवर्तनहरूप्रति उहाँको दृष्टिकोण।
उहाँले भने,
“नेपालमा केही प्रगति भएको देखिन्छ, अब त्यसलाई संस्थागत र दीगो बनाउनु आवश्यक छ। तर हामी सबैको एकीकृत प्रयास बिना त्यो सम्भव छैन।”
यो वाक्यांश आफैँमा एउटा राष्ट्रभक्ति गीतजस्तो लाग्यो।
हरि भेटवाल — व्यवसायी होइन् मात्र, सम्भावित राजनीतिज्ञ?
साथमा हुनुहुन्थ्यो अर्का उत्साही नेपाली — हरि भेटवाल। वहाँ गार्मेन्ट उद्योगमा सक्रिय हुनुहुन्छ। नेपालको सन्दर्भमा औद्योगिक वातावरणको जटिलता, अन्तर्राष्ट्रिय बजारमा उच्च प्रतिस्पर्धा र व्यापारमैत्री नीतिको आवश्यकता जस्ता विषयमा वहाँले गम्भीर तवरले कुरा राख्नुभयो।
हामीले मजाकमै भन्यौं — “अब त हरि जी, तपाईं राजनितिमा आउनुपर्छ।”
त्यसमा वहाँले मुस्काउँदै भन्नुभयो — “म धेरै बोल्छु, त्यसैले होला सबैलाई त्यस्तो लाग्छ।”
तर यो ‘मजाक’ भन्दा पनि गहिरो सन्देश बोकेको थियो। हामी जस्ता व्यवसायीक मन भएका नेपालीहरू राजनीतिमा समावेश हुन थाले भने, त्यो देशको नीतिमा समेत व्यावसायिक दृष्टिकोण भित्र्याउने साहसिक कदम बन्नेछ।
हामी तिन जना र एउटा साझा चिन्ता — देशको वर्तमान र भविष्य
त्यो साँझ ठमेलको कोलाहल बाहिर थियो, भित्र थियो शान्त वार्ता र देशप्रेमले भरिएको आत्मीयता। म, ऋषि सर र हरि जी तीनजना बसेर देशको वर्तमान, सम्भावना र सीमाबारे कुरा गर्दै थियौं।
हामी कुनै सरकारी पदमा थिएनौं, न त ठूलो मञ्चमा, तर हामीभित्र थियो एउटा साझा चिन्ता — “देशलाई कसरी राम्रो बनाउने?”
ऋषि सरको यो भनाइ विशेष रूपमा स्मरणीय रह्यो:
“अमेरिकामा बसे पनि मेरो आत्मा नेपालमै अडिएको छ। म जहाँ जाउँ, नेपालको नाम सँगै लिएर हिँड्छु।”
यस्तो भावना बोकेको नेपालीलाई भेट्न पाउनु गर्वको कुरा हो।
ठमेलको त्यो बेलुकी: रमाइलो क्षण र गहिरो प्रेरणा
साँझ ढल्दै गयो, हाम्रो चिया गफमा बदलियो। गफगाफले रमाइलो मोड लियो — नेपाली राजनीति, समाज, अनि कहिले काँही त यति गहिरो बन्दै गयो कि हास्यमा समेत दुःख मिसिएको महसुस हुन्थ्यो।
अन्तिममा हामी तीनै जना एउटै निष्कर्षमा पुग्यौं —
“नेपालको सम्भावना असीमित छ। तर त्यो सम्भावना साकार पार्न नेतृत्व, नीति र नेपालीको मनोबल एक ठाउँमा चाहिन्छ।”
निष्कर्ष: एक साँझको सन्देश
त्यो साँझ ऋषि ढकाल र हरि बेटवालसँगको भेटले मलाई यति कुराको साक्षात्कार गरायो — देशप्रेम कुनै बडो पद वा वक्तव्यमा मात्र सिमित हुँदैन, त्यो त दृष्टिकोण, चिन्ता, र निरन्तर सक्रियतामा देखिन्छ।
ढकाल सरजस्ता व्यक्तित्वले विदेशमै बसेर पनि नेपालको झन्डा उच्च राख्न सक्नु हुन्छ भने, हामी प्रत्येक नेपालीले जहाँ छौं, त्यहीँबाट केही गर्न सक्छौं।
को हुन ऋषि ढकाल ?
गोरखाबाट सुरु भएको यात्रा
ऋषि ढकालको जन्म १९७३ मा गोरखा जिल्लाको पृथ्वीनारायण नगरपालिकामा भएको हो। किसान परिवारमा जन्मिएका ढकालले बाल्यकालमा घाँसदाउरा गर्दै, खेतबारीमा काम गर्दै बिताए। शक्ति माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरेपछि, महेन्द्र माध्यमिक विद्यालय, कुन्दुरबाट एसएलसी उत्तीर्ण गरे। उच्च शिक्षा उनले सरस्वती बहुमुखी क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, र पाटन बहुमुखी क्याम्पसबाट प्राप्त गरे। त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक उपाधि हासिल गरे।

नेपालमा प्रारम्भिक संघर्ष र प्रेमकथा
ढकालले आफ्नो करियर १९९२ मा कार्यालय सहायकको रूपमा सुरु गरे। उनको कडा परिश्रम र प्रतिबद्धताले उनलाई १९९८ सम्ममा प्रबन्धकको पदमा पुर्यायो। यस अवधिमा, उनले विमला अधिकारीसँग भेट गरे, जो पछि उनकी जीवनसाथी बनिन्। विमलाको साथले ढकालको जीवनमा नयाँ ऊर्जा र प्रेरणा ल्यायो।
अमेरिकाको यात्रा र प्रारम्भिक संघर्ष
२००५ मा डिभी कार्यक्रममार्फत अमेरिका पुगेका ढकालले प्रारम्भिक दिनहरूमा अनेकौं चुनौतीहरू सामना गर्नुपर्यो। भाषागत समस्या, सांस्कृतिक भिन्नता, र व्यवसायिक अनुभवको अभावले उनलाई कठिनाइ भयो। छ महिनासम्म उनले कुनै स्थायी काम पाएनन्, र नेपालबाट ल्याएको पूँजी पनि सकिन थाल्यो। साथीभाइ र परिवारको सहयोगले उनले केही राहत पाए।
व्यवसायिक सफलता: राइजिङ इन्टरनेशनल इन्क
ढकालले २००५ मा “राइजिङ इन्टरनेशनल इन्क” स्थापना गरे, जसले नेपाली तयारी पोशाक र हस्तकलाका वस्तुहरू अमेरिका आयात गर्न थाल्यो। उनको कम्पनीले नेपाली उत्पादनहरूलाई अमेरिकी बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
कूटनीतिक भूमिका: अवैतनिक महावाणिज्यदूत
नेपाल सरकारद्वारा सन् २०१३ मा क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि अवैतनिक वाणिज्यदूत नियुक्त भएका ढकाललाई २०१५ मा महावाणिज्यदूतमा पदोन्नति गरिएको थियो। हालै, उहाँको कार्यकाल २०२८ सम्मका लागि थप गरिएको छ।
सामाजिक योगदान: समुदायप्रतिको समर्पण
ऋषि ढकालले अमेरिकामा नेपाली समुदायको हितमा विभिन्न सामाजिक कार्यहरू सञ्चालन गर्दै आउनुभएको छ। उहाँ पशुपति फाउण्डेशन, यूएसए का उपाध्यक्ष हुनुहुन्छ र नेपाली भाषा, धर्म, र संस्कृतिको संरक्षणमा सक्रिय रहनुभएको छ।
Screenshot
नेपालमा लगानी र योगदान
ढकालले नेपालमा हाइड्रोपावर, नेपाल क्यान्सर अस्पताल, र तक्षशिला एकेडेमीमा लगानी गरेका छन्। उनका व्यवसायिक प्रतिष्ठानहरूले सयौं नेपालीहरूलाई रोजगारी प्रदान गरेका छन्, जसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
निष्कर्ष: प्रेरणादायी व्यक्तित्व
ऋषि ढकालको जीवन यात्रा सून्यबाट शिखरसम्मको प्रेरणादायी कथा हो। उहाँले व्यवसाय, कूटनीति, र सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याउँदै नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल हुनु भएको छ।
लेखक परिचय:
एचबी ताम्राकार, स्वतन्त्र पत्रकार एवं समाजसेवी, जसले जापानदेखि अमेरिका, नेपालदेखि विदेशसम्म नेपाली पहिचान र विषयहरूमा कलम चलाउँदै आएका छन्।