काठमाडौं, वैशाख ३० — देशभर तीव्र रूपमा बढ्दो आर्थिक अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले “आर्थिक अपराध अनुसन्धान महाशाखा” स्थापना गरेको छ। विशेष रूपमा बैंकिङ ठगी, हवाला कारोबार, अनलाइन स्क्याम, लगानी ठगी, र विवादास्पद आर्थिक गतिविधिमाथि अनुसन्धान गर्न यो महाशाखा गठन गरिएको हो।
महाशाखाको प्रमुखमा वरिष्ठ प्रहरी अधिकृत एसएसपी होबिन्द्र बोगटी तोकिएका छन्। प्रारम्भिक चरणमा यो महाशाखा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) अन्तर्गत रहनेछ। तर, प्रहरी प्रधान कार्यालयले दरबन्दी र बजेटको प्रस्ताव अर्थमन्त्रालयमा पठाइसकेको र असारभित्रै अलग्गै संरचनासहित सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।
प्रहरी प्रवक्ता एसएसपी रमेश थापा का अनुसार, “यो महाशाखा अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण र मानव बेचबिखनजस्तै संवेदनशील अपराधलाई हेर्ने छुट्टै एकाइको रूपमा सञ्चालन हुनेछ। आर्थिक अपराधको व्यापकता हेर्दा यसलाई प्राथमिकतामा राखिएको हो।”
महाशाखा सञ्चालनको उद्देश्य:
- आर्थिक अपराध नियन्त्रणमा विशेष ध्यान
- उपत्यकासहित देशभरका मुद्दा समेट्ने अनुसन्धान अधिकार
- राजस्व अनुसन्धान, आन्तरिक राजस्व विभागलगायत निकायसँग समन्वय
- पीडितलाई सहजता दिने उद्देश्यले जिल्ला तथा इलाका प्रहरीमार्फत उजुरी संकलनको व्यवस्था
सीआईबीका प्रवक्ता एसपी युवराज खड्का भन्छन्, “जटिल र ठूला आर्थिक अपराधका मुद्दामा पहिलेदेखि नै सीआईबी सक्रिय छ। अब यो महाशाखा थप शक्तिशाली रूपमा त्यसैको निरन्तरता हो।”
यसअघि साइबर अपराध नियन्त्रणका लागि साइबर क्राइम ब्युरो गठन गरिएको थियो, जसको प्रभावकारीतासँगै आर्थिक अपराधका लागि पनि बेग्लै महाशाखा आवश्यक देखिएको प्रहरी स्रोतको भनाइ छ।
जनतालाई सन्देश — ‘अब ढुक्क भएर उजुरी दिनुहोस्!’
नेपाल प्रहरीको यो कदमले जनताको आत्मविश्वास बढाएको छ। राजधानी काठमाडौंमा भव्य कार्यालय स्थापना भएसँगै अन्य जिल्लाका प्रहरी कार्यालयमा पनि आर्थिक अपराधसम्बन्धी उजुरी यथावत् लिइने भएको छ।