एचबी ताम्राकार, काठमाडौं, १६ वैशाख ।नेपाली राजनीतिमा बहसको केन्द्र बनेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको सम्भावित एकता घोषणाको पूर्वसन्ध्यामा जनमत पार्टीले आज साँझ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
साँझ ६ बजे काठमाडौंको मध्यबानेश्वरस्थित सनराइज क्याफे एण्ड ब्याङ्क्वेटको सभा हलमा बस्ने बैठकलाई अत्यन्त महत्वपूर्ण मानिएको छ। यो बैठक दुई दलबीचको बहुप्रतिक्षित एकतालाई औपचारिक बनाउने दिशामा अन्तिम तयारीस्वरूप हुने भएको हो।
पार्टी केन्द्रीय सचिवालयद्वारा जारी सूचनामा भनिएको छ–
“बैठकमा सहभागी सबै सदस्यहरूले आफ्नो नागरिकता र मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।”
बैठकमा एकीकृत संरचनाको प्रारूप, संयुक्त नेतृत्वको संयोजन, भावी रणनीति, नीतिगत दस्तावेजको अन्तिम मस्यौदा तथा वैशाख १७ गतेको ऐतिहासिक एकता घोषणा समारोहको सम्पूर्ण तयारीबारे गहिरो छलफल गरिनेछ।
प्रज्ञा प्रतिष्ठानमा भोलि एकताको ऐतिहासिक घोषणा
जनमत र नागरिक उन्मुक्तिबीचको औपचारिक एकता घोषणा कार्यक्रम भोलि, २०८२ वैशाख १७ गते बुधवार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ। कार्यक्रमलाई राष्ट्रिय महत्वको राजनीतिक पर्वको रूपमा लिइएको छ।
पार्टी प्रवक्ता डा. शरद सिंह यादवका अनुसार,
“यो एकता केवल दुई संगठनको मिलन होइन, यो न्याय, पहिचान र अधिकारप्रति हाम्रो साझा राजनीतिक प्रतिबद्धताको जीवन्त प्रमाण हो।”
घोषणा कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्यहरू, राष्ट्रिय परिषद् सदस्यहरू, प्रदेश संयोजकहरू, भातृ संगठन तथा शुभेच्छुक प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र लोकतन्त्रप्रेमी नागरिकहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
नयाँ युगको राजनीतिक थालनी
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता नेपाली राजनीतिमा बहुलवाद, समावेशिता, सामाजिक न्याय र क्षेत्रीय सशक्तिकरणप्रतिको नयाँ विश्वासको रूपमा हेरिएको छ।
पार्टीले सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभेच्छुक र लोकतान्त्रिक चेतना भएका नागरिकहरूलाई “यो ऐतिहासिक घडीमा उपस्थित भई समर्थन जनाउन” विशेष आग्रह गरेको छ।