राजेन्द्र ताम्राकार, काठमाडौं, वैशाख १६ – प्रहरी महानिरीक्षक (प्र.म.नि.) दिपक थापाको अध्यक्षतामा सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ जान लागेका प्रहरी अधिकृतहरूलाई निर्देशन तथा सम्बोधन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम महानिरीक्षकको कार्यालयमा सम्पन्न भएको हो।

उक्त अवसरमा प्र.म.नि. थापाले सरुवा भई नयाँ जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई देशभर शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धानमा थप सक्रियता देखाउने र कानुनको निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिनुभयो।
उहाँले सम्बोधनका क्रममा प्रहरी संगठनप्रति जनआस्थाको निर्माण र विस्तारका लागि उच्च नैतिक आचरण, व्यावसायिक दक्षता र अनुशासनमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो। साथै, विविधता र नागरिक अधिकारको सम्मान गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
“हामीले संगठनको शुद्धीकरण र सुदृढीकरणका लागि Team Spirit सहित समर्पित भएर काम गर्नुपर्छ,” प्र.म.नि. थापाले भन्नुभयो, “प्रहरी सेवा केवल शक्ति प्रदर्शनको माध्यम होइन, जनताको विश्वास जित्ने जिम्मेवारी हो।”
कार्यक्रममा उहाँले परिवर्तनशील सुरक्षापरिस्थितिलाई आत्मसात् गर्दै प्रविधिको अधिकतम प्रयोग, समन्वय तथा सहकार्यमा आधारित प्रहरी सेवा प्रवाह गर्नुपर्ने पनि उल्लेख गर्नुभयो।
नयाँ कार्यक्षेत्रमा जाने प्रहरी अधिकृतहरूलाई सफल कार्यकालको शुभकामना दिँदै प्र.म.नि. थापाले प्रहरी संगठनको गरिमा र जनविश्वास अभिवृद्धिमा उनीहरूले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल प्रहरी – शान्ति, सुरक्षा र सेवामा समर्पित।