राजेन्द्र ताम्राकार,हंङकंङ।आज मातातीर्थ औंशीको पावन अवसरमा, आमाहरूको अथाह माया र त्यागलाई सम्झिँदै, हङकङमा बसोबास गर्दै आएकी समाजसेवी रन्तिजा आरतीले आफ्नो बाजे आमा र फुपु आमाको सम्झनामा विशेष सेवा कार्यक्रम आयोजना गरेकी छन्।

उहाँले समाजका एकजना वृद्ध आमालाई — जसका आफ्नै कोही आफन्त छैनन् — आदरपूर्वक भोजन गराउँदै, केही आवश्यक सामग्री र नगद प्रदान गरेकी छिन्। मातृमायाको सम्मानमा गरिएको यो कार्यले नेपाली समुदायबीच मानवता र करुणाको सन्देश फैलाएको छ।

रन्तिजा आरतीले सामाजिक सञ्जालमार्फत आफ्नो भावना यसरी पोखेकी छन्:
“आज मातातीर्थ औंशीको दिन सम्पूर्ण आमाहरूलाई सम्झिँदै मेरो बाजे आमा र फुपु आमाको नामबाट खाना खुवाउँदै, एकजना बजैलाई थोरै सामान र पैसा दिएको छु। उहाँ बजेको पनि कोही हुनुहुन्न। सेवा नै धर्म हो। धन्यवाद भाइबहिनीहरूलाई पनि मेरो सहयोग पुर्याइदिनु भएकोमा। यसैगरी सेवा गरिरहन पाउँ, भगवानसँग यही प्रार्थना गर्दछु।”
Screenshot
केवल आजको दिन मात्रै होइन, रन्तिजा आरती विगत लामो समयदेखि विभिन्न अवसरहरूमा समाजका असहाय, विपन्न तथा पीडित वर्गका लागि सहयोग गर्दै आइरहेकी छन्।
नेपाल तथा विदेश दुवै ठाउँमा, विद्यालयका बालबालिकादेखि वृद्ध आश्रमका बजेकाज्यूसम्म, जहाँ आवश्यकता देखिन्छ, त्यहाँ उहाँले सहयोगको हात फैलाउँदै आएकी छन्।

खाद्यान्न वितरण, कपडा तथा शैक्षिक सामग्री वितरण, अस्पतालका बिरामीहरूलाई सहयोग, प्राकृतिक विपत्ति पीडितका लागि राहत संकलन जस्ता धेरै क्षेत्रमा उहाँले सेवा गर्दै आइरहेको उल्लेखनीय छ।

रन्तिजा आरतीको सेवाभाव र निरन्तर योगदानले उनलाई हङकङ र नेपाली समुदायमा एक अग्रणी समाजसेवीको रुपमा स्थापित गराएको छ।
विदेशको व्यस्त जीवनशैलीबीच पनि मातृभूमि र मानवताप्रति देखाएको यो समर्पण प्रेरणादायी र अनुकरणीय छ।

उहाँले उठाएको यस्तो कदमले समाजमा आशा, विश्वास र करुणा जगाउँदै सेवा र ममताको दियो अझ बलियो पार्ने विश्वास गरिएको छ।