एचबी ताम्राकार, वैशाख १४,काठमाडौं —धर्म भन्दा माथि मानवता भन्ने दृष्टिकोणलाई आत्मसात गर्दै, युवा समाजसेवी एवम् देशभक्त व्यक्तित्व तवरेज आलमले आज सामाजिक सञ्जालमार्फत सबै नेपाली युवालाई गम्भीर सन्देश दिएका छन्।

मुस्लिम समुदायमा जन्मिए तापनि तवरेज आलमले आफ्नो जीवनको ७० प्रतिशत समय हिन्दू धर्मका साधु, सन्त र गुरुसँग बिताएको उल्लेख गर्दै लेखेका छन्, “मैले हिन्दू ब्राह्मण साथीहरूको घरमा बसेर भोजन समेत गरेको छु। मैले हिन्दू र मुस्लिम धर्म गुरुहरूलाई सँगै बसेर सुख-दुःख साटासाट गर्दै गरेको आँखाले देखेको छु।”

तवरेज आलमले सामाजिक सञ्जालमा केही नकारात्मक टिप्पणी र धार्मिक द्वन्द्व उक्साउने गतिविधिहरूप्रति पनि गहिरो चिन्ता व्यक्त गर्दै भनेका छन्, “कुनै एक व्यक्ति वा संगठनको गलत कार्यलाई लिएर सम्पूर्ण समुदायमाथि आरोप लगाउनु ग़लत हो। समस्या समाधानका लागि समाधान खोज्नु आवश्यक छ, न कि सम्प्रदायिक तनाव बढाउनु।”

विशेषगरी मधेश प्रदेशमा पटक-पटक हिन्दू र मुस्लिमबीचको भाइचारा विथोल्ने प्रयासप्रति आलोचना गर्दै आलमले जोड दिएका छन्, “धर्मको नाममा युद्ध गरेर युवा पुस्ताले आफ्नो भविष्य नष्ट गर्नु हुँदैन। हामीले एकअर्काको धर्मलाई सम्मान गर्दै सहअस्तित्वका साथ अगाडि बढ्नुपर्छ।”

तवरेज आलमले आफ्नो सामाजिक सञ्जालमार्फत केही दिनदेखि नकारात्मक मानसिकता बोकेका व्यक्तिहरूलाई ‘अनफ्रेन्ड’ गर्दै आएको जानकारी पनि दिएका छन्। उनले लेखेका छन्, “यदि म कसैको लागि गलत ठहरिएको छु भने, ढुक्क भएर मसँग सम्पर्क विच्छेद गर्न सक्नुहुन्छ।”

उनले उठाएको #HumanityFirst अभियानले स्पष्ट सन्देश दिएको छ — हामी सबैभन्दा पहिले मानव हौं, त्यसपछि मात्र आ-आफ्नो धर्म र समुदायका प्रतिनिधि।
तवरेज आलमजस्ता युवा नेतृत्वहरूले आजको जटिल समयमा नेपाली समाजमा धार्मिक सहिष्णुता, सद्भाव र आपसी सम्मानको भावना बलियो बनाउन उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ।