ललितपुर — वर्षौंदेखि धुलो, हिलो र खाल्डाखुल्डीको मार खेप्दै आएका महालक्ष्मी नगरवासीका लागि बल्ल आशाको किरण देखिएको छ। ढुङ्गेसाहुबाट कृष्ण मन्दिरसम्मको सडक खण्डमा अहिले धमाधम सडक निर्माण कार्य अगाडि बढेको छ। नगरवासीका गुनासाहरू कानमा पर्दै नपर्ने झैं गर्ने महालक्ष्मी नगरपालिकाका मेयरलाई अब भने ‘घैटोमा घाम लागेको’ भन्दै स्थानीय बासिन्दाहरू सामाजिक सञ्जालमा व्यंग्यात्मक प्रशंसा गर्दैछन्।
सडक निर्माणका लागि डोजर गडगडाउँदा नजिकैका बासिन्दाहरू राहतको सास फेर्न थालेका छन्। बर्षायाम सुरु हुनु अघि नै काम थालिएकोले अब हिलोमा सरी घर जानुपर्ने दिन जाने विश्वास छ। स्थानीय व्यवसायीहरू, विद्यार्थीहरू र वृद्धवृद्धाहरू सबैले यो विकासलाई ढिलो भए पनि सह्रानीय कदम भनेका छन्।
“हामी त सोच्न थालिसकेका थियौं कि, नगरपालिकाले यो सडक भुलिसक्यो,” एक स्थानीय बासिन्दाले हाँस्दै भने, “तर बल्ल मेयर साहेबलाई सम्झना आयो जस्तो छ।”
‘फेसबुकको गुनासोले असर गर्यो होला’
धेरैले अनुमान लगाइरहेका छन् – स्थानीयहरूको निरन्तर सामाजिक सञ्जालमार्फत उठाइएको आवाज, फोटो र भिडियो अपलोडले नगरप्रमुखको ध्यान तानेको हुनुपर्छ। “केही महिनाअघि हामीले रोडको खाल्डोमा फसेको मोटरसाइकलको फोटो पोस्ट गरेका थियौं, त्यसपछि बल्ल हल्ला हुन थाल्यो,” अर्का स्थानीय भन्छन्।
जनताको धैर्यको परीक्षा अब अन्त्य तर्फ?
नगरपालिकाले सडक निर्माण कार्यलाई गुणस्तरीय बनाउन प्राविधिक टोली खटाएको दाबी गरिए पनि, स्थानियवासी भने ‘गति सुस्त भए पनि कम्तिमा सुरु त भयो’ भन्दै सन्तोष मानिरहेका छन्।
अबको चासो भने यही हो – सुरु त भयो, तर के पूरा पनि समयमै हुन्छ? नत्र फेरि त्यो ‘घैटो’ फेरि छायाँमै जान सक्ने डर जनतामा छ।
समाप्तिमा —
ढुङ्गेसाहुबाट कृष्णमन्दिरसम्मको सडक विकास कार्य अब महालक्ष्मी नगरपालिकाको ‘साख’ सँग जोडिएको विषय बन्ने देखिएको छ। जनता चाहन्छन् – यो उत्साह अल्पकालीन होस् तर विकास दीर्घकालीन।