२४ अप्रिल २०२५, ब्रसेल्स – विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको साझा आवाज बोकेकी गैरआवासीय नेपाली संघ (NRNA), बेल्जियमकी महासचिव रुबिना शर्माले एक ऐतिहासिक अपील गर्दै सम्पूर्ण प्रवासी नेपालीहरूलाई संघमा एकता, पुस्तान्तरण र समाधानमुखी सोचको बाटोमा उभिन आह्वान गरेकी छन्।
उनको आवेगपूर्ण, विचारशील र देशप्रेमले भरिएको सन्देश अहिले विश्वभरका नेपाली समुदायमा गम्भीर बहस र आशाको विषय बनेको छ।

“हामी जहाँ छौं, नेपालीपनको उज्यालो छरिरहेका छौं”
महासचिव शर्माले लेखेकी छन्, “विश्वभर छरिएर रहेका हामी आफू बसेको मुलुकमा पहिचान बनाइरहेका छौं – अध्ययन, उद्यमशीलता, प्रविधि र समाजसेवामा प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेका छौं।” तर, उनले थपिन् – “हामीले आफूभित्र पनि हेर्नुपर्छ : के हामी अझै हाम्रो संस्कृति, हाम्रो मातृभूमिसँग आत्मीय सम्बन्धमा छौं?”
संघभित्रको समस्या र भावी पुस्ताको उत्तरदायित्वबारे प्रश्न
गैरआवासीय नेपाली संघको गौरवमय दुई दशक लामो यात्राले लाखौं नेपालीलाई एउटै छातामुनि ल्याएको भए पनि, हाल देखिएको विभाजन, राजनीतिक हस्तक्षेप र व्यक्तिगत स्वार्थले संगठनलाई दिशाविहीन बनाउने खतरा पैदा भएको महासचिव शर्माको तर्क छ।
उनले जोड दिइन्, “हाम्रो पहिचान र भावी पुस्ताका लागि नागरिकताको निरन्तरतासँग जोडिएका जिम्मेवारीहरू ओझेलमा परिरहेका छन्। सर्वोच्च अदालतको निर्णयपछि अझै गहिरिएको विभाजन र सुशासनको अभावले हामी सबैलाई सोच्न बाध्य बनाएको छ।”
अब निष्क्रियता होइन, जागरुकताको बेला
रुबिना शर्माले आफ्नो सन्देशमा केवल समस्या औंल्याउने होइन, स्पष्ट समाधान पनि प्रस्तुत गरेकी छन् –
“दुई दशकको हाम्रो लगानी खेर जान नदिन मिलेर उठ्ने, भावनात्मक रूपमा एकीकृत हुने, र भावी पुस्तालाई नेपालसँग जोड्ने समय हो।”
उनले संघलाई अब विधि र भावनामा आधारित एकतामा रूपान्तरण गर्नुपर्ने कुरा स्पष्ट रूपमा उठाएकी छन्।
“पहिले एनसीसीमा एकता, अनि आईसीसीमा समन्वय”
उनको कार्यदिशामा एक स्पष्ट रोडम्याप छ – सबै एनसीसीहरूमा एकताका साथ महाधिवेशन सम्पन्न गर्नु र त्यसपछि मात्र आईसीसीमा एकीकृत महाधिवेशन गर्नु। यो प्रस्तावले गम्भीर संवादको ढोका खोलेको छ।
रुबिना शर्मा : एक दूरदर्शी नेतृत्वको प्रतिक
NRNA बेल्जियमकी महासचिव रुबिना शर्मा विगत लामो समयदेखि नेपाली समुदायको हकहितका लागि बेल्जियममा सक्रिय नेतृ हुन्। संगठनात्मक दक्षता, सशक्त विचार, र हिम्मतका साथ नेतृत्वमा देखिने उनी नारी नेतृत्वको प्रेरणादायी उदाहरण पनि बनेकी छन्।
उनको यो सार्वजनिक अपील गैरआवासीय नेपाली संघमा नयाँ ऊर्जा, नयाँ सम्भावना र नयाँ पुस्ता ल्याउने दिशातर्फको ठुलो पाइलो मानिएको छ।
अब एकताको सूत्रमा बाँधिने बेला
महासचिव शर्माले अन्त्यमा भनेकी छन् –
“संघको आधार अब विभाजन होइन, विधि र भावनामा आधारित एकता हुनुपर्छ। हामी अब संघमा फुट्ने होइन, जुट्नुपर्छ। गुनासो होइन, समाधानमुखी ऊर्जा देखाउनुपर्छ।”
उनको आवाज आज साँच्चिकै गैरआवासीय नेपालीहरूकै आवाज बनेको छ – सशक्त, विवेकी, र दूरदर्शी।