ताप्लेजुङ, वैशाख ६ – गृह जिल्ला ताप्लेजुङमा आयोजित कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराई ‘नो केबलकार’ अभियानका कार्यकर्ताहरूको घेराबन्दीमा परेका छन्। घटनाक्रम अनुसार, कार्यक्रम सम्पन्न भएपछि भट्टराई नजिकै रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालय गएका थिए। त्यही बेला ‘नो केबलकार’ र पहिचानवादी समूहका करिब ८–१० जना कार्यकर्ताहरूले शौचालयको बाहिर नाराबाजी गर्दै घेराबन्दी गरेका थिए ।
स्थिति तनावपूर्ण हुन थालेपछि सुरक्षाकर्मीहरूले भट्टराईलाई सुरक्षित राख्न शौचालयको ढोकामा चुकुल लगाएर सुरक्षा दिएका थिए । प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, “माननीयज्यूलाई पिसाब लागेर शौचालय जानुभएको थियो। आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेका थिए” ।
सामाजिक सञ्जालमा यो घटना भाइरल भएपछि, सांसद भट्टराईले प्रतिक्रिया दिँदै आफूलाई कुनै दुःख नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो। मेरो आग्रह विवेकले काम गरौँ। प्रायोजकहरूको हतियार नबनौँ। सामाजिक एकता र सद्भाव नबिगारौँ” ।
‘नो केबलकार’ अभियानले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको विरोध गर्दै आएको छ। उनीहरूको दाबी अनुसार, सो परियोजनाले स्थानीय संस्कृति, पर्यावरण र पहिचानमा नकारात्मक असर पार्नेछ। सांसद भट्टराईले पूर्वपर्यटन मन्त्रीका हैसियतले सो परियोजनालाई समर्थन गरेका थिए, जसका कारण उनी विरोधको केन्द्रमा परेका हुन् ।