रौतहटको देवानी गोनाही नगरपालिका अन्तर्गत एक खेतमा घाँस काट्ने विवादपछि सोमवार राति भएको सामूहिक आक्रमणमा तीन महिला गम्भीर घाइते भएका छन्। घटनामा संलग्न एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
घाइते हुनेमा वडा ५ टीकुलिया गाउँका महेश तिवारीका छोरी वर्ष २५ की अस्मिता तिवारी, वर्ष १५ की सुस्मिता तिवारी र बचेलाल मुखिया बिनकी श्रीमती ४० वर्षीया अनतिया बिन रहेका छन्। पीडित परिवारका अनुसार अनतियाको टाउकोमा गहिरो चोट लागेको छ भने सुस्मिता र अस्मिताको शरीरभरि चोटपटक लागेको छ।
घटना लगत्तै घाइतेहरूलाई राति नै एम्बुलेन्समार्फत बारा, कलैया स्थित ए प्लस अस्पतालमा लगियो। चिकित्सकले घाइतेहरूको अवस्था सामान्य हुँदै गएको र उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको बताएका छन्।
घटनामा संलग्न शङ्कर राय यादवका छोरा ४० वर्षीय शम्भु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ र उनी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएका छन्।
पीडित परिवारका अनुसार विवाद भएपछि शङ्कर राय यादव, उनका छोरा शम्भु यादव र घरका महिलाहरूले तिवारीको घरमा प्रवेश गरी छोरीहरूलाई फलामको रड प्रयोग गरी कुटपिट गरेका थिए। कुटाई रोक्न गएका छिमेकी अनतिया बिनमाथि पनि गम्भीर कुटपिट भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। घटनापछि लुकेर बसेका शङ्कर राय यादव पनि प्रहरी फिर्ता भएपछि घाइते भएको बहाना बनाउँदै एम्बुलेन्समा उपचार गराउन गएको प्रत्यक्षदर्शीले बताएका छन्।






Leave a Reply