काठमाडौं, असोज ३० ।नेपाल प्रहरीको ७०औं स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहका बीच प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले अध्यक्ष श्रेष्ठलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

एनआरएनएले भदौ २३–२४ को ‘जेनजी आन्दोलन’का क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाको पुनर्निर्माणमा सहयोग गरेकाले प्रहरी प्रधान कार्यालयले श्रेष्ठलाई सम्मान गरेको हो ।
🔹 पुनर्निर्माणमा एनआरएनएको उल्लेखनीय सहयोग
एनआरएनएले हाल उपत्यका ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
उक्त परियोजनामा करिब ८० लाख रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।
हाल कन्ट्रोल रुममा आवश्यक आधुनिक उपकरणहरू जडान गर्ने कार्य जारी रहेको एनआरएनए उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, “केही दिनमै उक्त पुनर्निर्मित कन्ट्रोल रुम ट्राफिक प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ।”
🔹 एनआरएनएको प्रतिबद्धता
सम्मान ग्रहणपछि अध्यक्ष श्रेष्ठले भने,
“एनआरएनएले सदैव मातृभूमिको आवश्यकता र संकटका घडीमा साथ दिएको छ । सडक सुरक्षाको सुदृढीकरणका लागि हामीले यो पहल गरेका हौं, आउँदा दिनमा पनि आवश्यकता अनुसार निरन्तर सहयोग गर्नेछौं।”
🔹 कार्यक्रममा उपस्थित अतिथिहरू
उक्त समारोहमा एनआरएनएका पूर्व अध्यक्षहरू विनोद कुँवर र राजेन्द्रकुमार (आरके) शर्मा,
पूर्व महासचिव जानकी गुरुङ,
वर्तमान उपाध्यक्षहरू मनोजकुमार श्रेष्ठ र विश्वदीप तिगेला,
महासचिव बाबुराम (बीआर) लामा, सचिव तिलक गैरे,
महिला संयोजक रश्मी थापा, युवा संयोजक भिमसेन थापा,
युवा उद्यमी तथा समाजसेवी नारायण भण्डारी,
विपद् व्यवस्थापन समितिका सदस्यसचिव धर्मराज गिरी,
कार्यकारी निर्देशक रविकिरण अधिकारी,
सञ्चारकर्मी विवश काफ्ले लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरीले एनआरएनएलाई दिएको यो सम्मानलाई प्रवासी नेपाली समुदायप्रति राज्य संस्थाको कदर र सहकार्यको प्रतिकका रूपमा लिइएको छ ।