गोरखा, सहिद लखन – लामो समयदेखि अष्ट्रेलियामा बसेर सफल व्यवसायिक यात्रा तय गरेका प्रखर युवा, शिक्षित, मिलनसार र सबैमा सम्मानित व्यक्तित्व शिव बन्जाराले अष्ट्रेलियाको जीवन त्याग गर्दै स्थायी रूपमा नेपाल फर्किने निर्णय गरेको खबरले गोरखाली समाजमा उत्साह ल्याएको छ।
सहिद लखन गाउँपालिका वडा नं. ८ का अध्यक्ष बासु देव ढकालले सामाजिक सञ्जालमार्फत बन्जाराको स्वदेश फिर्तीको निर्णयलाई स्वागत गर्दै विशेष शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ढकालले लेखेका छन्,
“शिव बन्जारा अष्ट्रेलिया छाडेर सदाका लागि नेपाल फर्कदै हुनुहुन्छ भन्ने खबरले उत्साहित बनायो। आजको गालिगलोज र निषेधको राजनीतिक बजारमा तपाईंको कित्ता कता पर्ला थाहा छैन, तर जहाँ रहनुहोस्, सामाजिक सन्तुलन कायम राख्न सक्ने मुलमन्त्र बोकेर युवाहरुलाई यतै रोजगारीको अवसर जेटाउने नीतिमा तपाईंको जोडबल रहोस्।”
शिव बन्जारा अष्ट्रेलियामा रहँदा राष्ट्रियस्तरका व्यवसायहरू सफलतापूर्वक सञ्चालन गर्दै आएका थिए। उनले नेपाली समुदायमा उदार, शिक्षित, र सहयोगी व्यक्तित्वको पहिचान बनाएका थिए। त्यहाँ रहेका सफल व्यवसायिक नेपालीहरूमध्ये आठ-दश जनाको अग्रपंक्तिमा नाम लेखाउन सफल बन्जाराको योगदान अष्ट्रेलियामा मात्र सीमित नभई, प्रवासी नेपाली समाज र नेपालबीच सेतुको रूपमा पनि रहँदै आएको थियो।
अध्यक्ष ढकालले उनको सामाजिक प्रतिबद्धता, युवा उत्प्रेरणाको भावना र देशप्रतिको मोहलाई उल्लेखनीय बताउँदै थपे,
“विदेश मोह छाडेर मातृभूमिको सेवा गर्ने सोच आफैँमा प्रेरणादायी छ। हामी चाहन्छौं, बन्जाराज्यूजस्ता युवाले विदेशबाट फर्केर स्वदेशमै अवसर निर्माण गरुन्। यही अभियानमा हामी सबैको साथ रहनेछ।”
शिव बन्जाराको स्वदेश फिर्तीले देशमा वैदेशिक अनुभव, व्यवसायिक कौशल र युवाहरूप्रति प्रेरणादायी नेतृत्व थपिने विश्वास गरिएको छ। अध्यक्ष ढकालको शुभकामनाले गोरखा क्षेत्रकै अन्य युवालाई पनि देशमै योगदान गर्न हौसला मिल्ने संकेत गरेको छ।