हरिहर पोखरेल: लेखक एवम राजनीतिक विश्लेषण
१. भूमिका : सतही दृश्यपटलभित्रको गहिरो कम्पन
आजको दिन सामान्य छैन। सामान्य देखिने राजनीतिक गतिविधि पछाडिबाट, नेपाली कम्युनिष्ट आन्दोलनको धमनिमा कम्पन छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको यो क्षण, केवल एक संगठनात्मक बैठक होइन—यो विचार, मूल्य र नेतृत्वको गहिरो परीक्षण हो। इतिहासले फेरि एकपटक एमालेलाई उही चोकमा उभ्याइदिएको छ—जहाँ बाटो फरक-फरक दिशामा लाग्न सक्छ। एउटा बाटो स्थायित्व र आदर्शको हो भने अर्को बाटो सत्तामोह, विचारहीन प्रतिस्पर्धा र आत्मविलोपनतर्फ मोडिन सक्ने खतरापूर्ण मोड।
२. विगतका निर्णायक मोडहरूसँग तुलना
नेपाली वाम आन्दोलन, विशेषतः एमालेको इतिहासमा यस्ता धेरै निर्णायक मोडहरू देखिएका छन्। आजको बैठकको तुलनालाई ती ऐतिहासिक क्षणहरूसँग गर्न सकिन्छ:
🔸 तत्कालीन महासचिव सीपी मैनालीलाई हटाएर झलनाथ खनाललाई महासचिव बनाउने निर्णयले पार्टीको नेतृत्व संरचनामा ठुलो बदलाव ल्यायो। त्यही निर्णयले पार्टीको वैचारिक लयलाई पुनः निर्धारण गर्यो।
🔸 महाकाली सन्धिसम्बन्धी बहसले पार्टीभित्र गहिरो विभाजन सिर्जना गर्यो। राष्ट्रियता र संप्रभुता जस्तो गम्भीर विषयमा पनि पार्टी स्पष्ट निष्कर्षमा पुग्न गाह्रो पर्यो।
🔸 छैटौं महाधिवेशनपछिको संस्थागत बलियोपन पछि आएको विभाजनले देखायो—संघर्ष केवल वैचारिक मात्रै होइन, सत्ताको भूख पनि हो।
🔸 माओवादीसँग एकता र त्यसको विघटनले नेपाली वाम आन्दोलनको भावी यात्रामै गहिरो असर पार्यो। आदर्शको नाममा गरिएको एकता, व्यावहारिक स्तरमा प्रतिद्वन्द्विताको युद्धमै परिणत भयो।
🔸 माधव नेपाललगायत नेताहरूको अलग पार्टी गठनले देखायो—संगठन केवल आस्था होइन, व्यवस्थापनको समष्टि पनि हो।
आजको बैठक यी सबै क्षणहरूसँग विचार गरेर हेर्दा, अर्को यस्तै गम्भीर मोड बनेको छ।
३. बैठकको भावी प्रभाव : पुनर्निर्धारण या पुनरावृत्ति?
प्रश्न यही हो—के यो बैठकले नयाँ लय दिन सक्छ? या फेरि उही त्रुटिपूर्ण अभ्यासको पुनरावृत्ति हुनेछ?
आज केन्द्रीय सदस्यहरू विचारको पक्षमा उभिन्छन् कि अवसरको पछि लाग्छन्—यही प्रश्नले पार्टीको दिशा निर्धारण गर्नेछ। विगतमा वैचारिक अनुशासनको नाममा धेरै दबावट सहेकाहरू आज सत्ताको वरिपरि मात्र गोलबन्द भइरहेका छन्। विचारशून्य आकांक्षा र सत्ताप्रतिको लोभमा भरिएको राजनीतिले एमालेलाई केवल एउटा ‘electoral machine’ मा रूपान्तरण गरिरहेको छ।
४. सामूहिकता बनाम व्यक्तिगत आकांक्षा
पार्टीभित्र यति ठूलो दूरी कहिल्यै महसुस भएको थिएन। सामूहिक निर्णयप्रति समर्पणभन्दा व्यक्तिगत आकांक्षा हावी हुन थालेको छ। महाधिवेशनहरू अब केवल आन्तरिक सत्ताक्रमको प्रतिस्पर्धा बन्न थालेका छन्। निष्ठावान कार्यकर्ता, जो लामो समयदेखि विचार र आन्दोलनका पक्षमा लडे, आज हाशियामा छन्। उनीहरू न मन्त्री बन्न पाए, न सांसद—न प्रभावशाली निर्णय प्रक्रियामा पुग्न। बरु पैसा, पद र प्रचारमा अगाडि देखिने अनुहारहरू नेतृत्वमा छन्।
५. पार्टीभित्र मौलाउँदै गएको ‘प्रसाई प्रवृत्ति’
सबैभन्दा चिन्ताजनक पक्ष भनेको—राजनीतिमा विचारभन्दा प्रभाव हावी हुन थालेको अवस्था हो। डा. दुर्गा प्रसाई प्रवृत्ति अब पार्टीभित्रै मौलाउँदै गएको छ। यो प्रवृत्ति विचार, सिद्धान्त र राजनीतिक दर्शनलाई तिलाञ्जली दिई व्यक्तिगत सम्पत्ति, प्रभाव र सत्ताको भव्यता देखाएर नेतृत्व खरिद गर्ने अभ्यास हो। पार्टीको मूल आस्था यति छिटो भास्सिन सक्छ भन्ने विश्वास, पहिले थिएन। तर आज नेतृत्व तहमा यिनै प्रवृत्तिहरू हाबी छन्।
राजनीतिक चेत, वर्गीय दृष्टिकोण र नैतिक सन्तुलनको अभावले गर्दा एमाले अब बिस्तारै विचारको होइन, नेटवर्किङ र घेरा निर्माणको खेल बन्न थालेको छ।
६. विचार र मूल्यको क्षरण : आन्दोलनको मर्म हराउँदै
नेपाली कम्युनिष्ट आन्दोलनको मूल बल विचार, संगठन र त्याग थियो। पार्टीभित्र बहस हुन्थ्यो, मतभेद हुन्थ्यो, तर अन्ततः सामूहिक निर्णय मानिन्थ्यो। अहिले अवस्था उल्टिएको छ। बहस छैन, केवल आदेश छ। मतभेदको स्थानमा आत्मसमर्पणको अपेक्षा छ। विचारको स्थानमा आत्मलाभको योजना छ। यस्तो अवस्थामा आन्दोलनको मूल मर्म हराउने खतरा छ।
यदि पार्टी नेतृत्वले समयमै यो विघटनकारी प्रक्रियालाई नियन्त्रण गर्न सकेन भने—नेपाली कम्युनिष्ट आन्दोलन केवल इतिहासको एउटा अध्याय बन्नेछ, वर्तमानको आन्दोलन होइन।
७. सत्ताबाट प्राप्त अवसरहरूको अन्यायपूर्ण वितरण
राज्यसत्ता सञ्चालनको लामो अनुभवले एमालेलाई शक्ति र स्रोत दुवैको पहुँच दिएको छ। तर त्यो स्रोतको उपयोगमा समता छैन। पुराना निष्ठावान कार्यकर्ताहरूको बेवास्ता र नयाँ पावर-सोर्सहरूलाई दिएको प्राथमिकताले गर्दा, असन्तुष्टि गहिरिएको छ।
सत्ताको केन्द्रमा रहनेहरूलाई अवसरको लगातार पुनरावृत्ति हुन्छ। बाँकीलाई चुप लाग्नुपर्ने बाध्यता। यस्तो असमानता वैचारिक आन्दोलनको मूलभूत आधारमा प्रहार हो।
८. केन्द्रीय कमिटीको कर्तव्य : बहसको गहिराइमा पुगौं
केन्द्रीय कमिटी केवल एउटा संस्थागत बैठक होइन, यो पार्टीको आत्मासँग संवाद गर्ने स्थान हो। अहिलेको बैठकले सतही बहसहरूमा रमाउने कि गहिरो बहसको बाटो समाउने—यही प्रश्नले पार्टीको भविष्य निर्धारण गर्नेछ।
हिजो सच्चा कम्युनिष्टहरू रातभर जागेरै थेसिस लेख्थे। आज तिनका सन्तानहरू फेसबुक स्टाटस हेरेर राजनीतिक विमर्श चलाउँछन्। यो प्रवृत्ति मात्र बदल्न सकियो भने पनि आन्दोलन बाँच्न सक्छ।
९. समापन : सामूहिक शुभकामनाको राजनीति
राजनीति केवल पदको प्रतिस्पर्धा होइन। राजनीतिक जीवनको एउटा अवस्था आउँछ, जहाँ व्यक्ति व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर, आन्दोलनको समग्र भविष्यप्रति चिन्तित हुन्छ। अहिले हामी त्यही चरणमा छौँ—जहाँ नेतृत्वको जिम्मेवारीमा नहुनु पनि एउटा किसिमको आत्म-शुद्धि हो।हामी शुभकामनाको राजनीति गर्छौँ—संगठनको लागि, आन्दोलनको लागि, देशको लागि।
१०. चेतावनी : मूल्यविहीन राजनीतिले पार्टीलाई समाप्त पार्न सक्छ
यदि विचारविहीन र मूल्यविहीन अभ्यासलाई निरन्तरता दिइयो भने—नेपाली कम्युनिष्ट आन्दोलन समाप्त हुनेछ। केवल संगठनको नाम बाँकी रहनेछ। पार्टीका कार्यक्रमहरूमा नाराहरू त ठूला हुनेछन, तर त्यो नारामा कुनै आत्मा रहने छैन। विचारको मृत्युपछि आन्दोलनको शरीर बाँकी रहँदैन।त्यसैले—यो बैठक केवल एक ‘event’ होइन। यो एक निर्णायक क्षण हो—जहाँ पार्टी आत्मा बचाउने निर्णय गर्छ कि त्यसको चिहान खन्ने काम गर्छ।आन्दोलन र देशलाई यो खतराबाट जोगाऔं।
अन्तिम शब्द :
राजनीति केवल सरकार चलाउने अभ्यास होइन। यो आत्मासँगको संवाद हो। नेकपा एमाले अहिले आत्मासँग संवाद नगरी केवल सत्ता र सम्पत्तिको योजनामा सीमित हुँदैछ। यो आत्मघात हो।नेतृत्वलाई आग्रह—पुनः विचार गरियोस्, पुनः मूल्य सम्झियोस्, पुनः कार्यकर्ता सम्झियोस्।यही बाटोले कम्युनिष्ट आन्दोलन पुनर्जीवित हुनेछ।नत्र, आन्दोलन इतिहासमा विलीन हुनेछ, शेष केवल स्मृति रहनेछ।