जनकपुर, असार २३ गते —पूर्वसांसद तथा जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले “मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुन्छ” भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि देशव्यापी बहस सुरु भएको छ। उक्त अभिव्यक्तिको तीव्र भर्त्सना गर्दै स्वतन्त्र युवा नेता तबरेज आलमले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका छन्।
नेता आलमले भनेका छन्, “एसपी खड्का र यादवबीचको टेलिफोन संवादमा दुवैले एक–आपसमा अभद्र भाषा प्रयोग गरेका छन्। तर यो विषयको समाधान संवाद र संयम हो, न कि मधेशलाई नेपालबाट टुक्र्याउने अविवेकी माग।”
आलमले मधेशलाई पृथक राज्य बनाउने विचार बोकेका नेताहरूप्रति कडा आक्रमण गर्दै भने, “यस्ता अभिव्यक्ति दिने व्यक्ति नेता होइनन्, तिनीहरू दलाल र आतंककारी हुन्। मधेश कुनै व्यक्तिको बाउको सम्पत्ति होइन, यो राज्यको अभिन्न अंग हो र राज्यले नै यसको सञ्चालन गर्छ।”
उनले परिवारभित्रको सामान्य विवादलाई पनि विभाजन गरेर समाधान नगर्ने उदाहरण दिँदै भने, “घरमा झगडा भयो भनेर घर नै तोडिदिने हो भने समाज नै बर्बाद हुन्छ। त्यसैले समाधान संवादबाट खोज्नुपर्छ, न कि पृथकीकरणबाट।”
पूर्वसांसद यादव हाल पक्राउ पुर्जी जारी भएसँगै फरार अवस्थामा छन्। उनले भारतको सितामढीबाट भिडिओ सन्देश सार्वजनिक गर्दै मधेशको पृथकता, नेपाल सरकारप्रति आक्रोश र भारतीय सुरक्षाकर्मीहरूसँग सहयोगको अनुरोध समेत गरेका छन्। भिडिओमा उनले “जय बिहार, जय नेपाल, जय भारत” भनेर शुरुवात गर्दै नेपाल सरकारलाई नस्लीय सोच राख्ने भन्दै आरोप लगाएका छन्।
यस विषयमा तबरेज आलमले प्रतिक्रिया दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समरसता र संवैधानिक शासनप्रति प्रतिबद्ध सबै नेपालीलाई सतर्क रहन आग्रह गरेका छन्। उनले भने, “यस्ता देश टुक्र्याउने सपना देख्नेहरूलाई समयमै कानूनी कारबाही हुनुपर्छ। देशमा भातृत्व, समानता र एकताको भावना कमजोर हुन दिनु हुँदैन।”