टोकियो, जापान –गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानद्वारा प्रवासमा रहेका नेपालीहरूको साझा सपना साकार पार्ने उद्देश्यले अघि बढाइएको “एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र” निर्माण अभियानमा आर्थिक सहयोग जुटाउने क्रम सशक्त ढंगले अगाडि बढिरहेको छ।

“नेपाली घर हाम्रो साझा सपना हो” भन्ने मूल नारासहित अघि बढाइएको यस ड्रीम प्रोजेक्टलाई जापानभरि रहेका नेपाली समुदायको उल्लेखनीय साथ र सहयोग प्राप्त भइरहेको छ।
यसै क्रममा, एनआरएनए जापान एलसीसी चिवाका उपसंयोजक रमेश गीरीले ५,००० जापानी येन सहयोग गर्नु भएको छ भने समाजसेवामा अग्रणी र सहृदय व्यक्तित्वका रूपमा परिचित समीर गौतमले ६,००० जापानी येन बराबरको आर्थिक सहयोग प्रदान गरेका छन्।

उनीहरूको यस मनकारी योगदानप्रति एनआरएनए जापानले गहिरो कृतज्ञता व्यक्त गर्दै भनेको छ,
“तपाईंको सानो सहयोगले पनि यो ठूलो सपनालाई वास्तविकतामा बदल्न मद्दत गर्नेछ। आउनुहोस्, ‘नेपाली घर हाम्रो साझा सपना हो’, यसलाई साकार पारौं।”
यो अभियानले न केवल भवन निर्माणको उद्देश्य बोकेको छ, यो नेपाली कला, संस्कृति, मौलिक परम्परा र धार्मिक आस्थाको संरक्षण, अनि तिनको भविष्य पुस्तामा हस्तान्तरण गर्ने ऐतिहासिक कार्य हो। जापानमा रहेका नेपालीहरूको सामाजिक एकता, विविधता र संस्कृतिप्रतिको गर्वलाई मूर्त रुप दिने प्रयासको स्वरूप हो यो केन्द्र।
एनआरएनए जापानको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ –
“प्रवासमा बस्ने अनि नेपाललाई माया गर्ने हामी सबैको साझा योगदानमार्फत यो बहुसांस्कृतिक केन्द्र निर्माण कार्य अघि बढिरहेको छ। तपाईंहरूले पुर्याउनु भएको हातेमालो र साथप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं।”
अभियान अझै जारी छ
एनआरएनए जापानले सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस ऐतिहासिक अभियानमा सहभागी भई सानो सहयोगमार्फत ठूलो सपना साकार पार्न आग्रह गरेको छ।
जय एनआरएनए!
जय नेपाली एकता!
जय संस्कृति र समर्पण!