काठमाडौं —हालै एक अन्तर्राष्ट्रिय स्तरको ठगी (Scam) प्रकरणका सन्दर्भमा सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाउँदै प्रिन्स युवराज कार्कीले यस्ता घटनाहरूले दुःख, पीडा र आरोपहरूको भारी थोपरे पनि सत्य पक्षमा उभिने हिम्मत नगुमाउन पीडितलाई आग्रह गरेका छन्।
कार्कीले स्टाटसमा लेखेका छन्, “मैले सधैं भन्ने गरेको छु — चाहिनेभन्दा बढी विश्वास कसैलाई गर्नु हुँदैन। समयमै हिसाब र पिसाब स्पष्ट पार्नुपर्ने हो, जुन दुर्भाग्यवश हुन सकेन।”
उनका अनुसार हाल देखिएको ठगी प्रवृत्ति साँचो अर्थमा गम्भीर हो तर अझै ढिलो भइसकेको छैन। “अझै पनि समय छ। अब यस्ता स्क्यामरहरूलाई अनुभवको आधारमा तह लगाउने सुरुवात गर्नुपर्छ,” उनले लेखेका छन्।
उक्त स्टाटसमा युवराज कार्कीले ती व्यक्तिको पक्षमा समेत आवाज उठाएका छन् जसले विगतमा सयौं युवाहरूलाई अमेरिका, युरोप, जापानजस्ता देशमा स्थापित गराएका थिए। “कतिले त उहाँलाई भगवानकै दर्जा दिएका थिए। तर आज त्यो व्यक्ति नै आरोपको घेरामा छन्। माग पूरा नहुँदा भगवानसँग पनि गुनासो गरिन्छ भने तपाईँ त आखिर मान्छे हो,” स्टाटसमा उल्लेख गरिएको छ।
तर कार्कीले स्पष्ट पारेका छन् कि जुनसुकै व्यक्ति वा समूहबाट भएको ठगी कुनै हालतमा स्वीकार्य नहुने र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनु पर्ने आवश्यकता औंल्याएका छन्। “काम गर्ने मान्छेले जस्तोसुकै जश र आलोचना भोग्न सक्छ, तर जिम्मेवारीबाट पछि हट्न मिल्दैन,” उनले लेखेका छन्।
अन्त्यमा उनले सबै संलग्न पक्षहरूलाई आग्रह गर्दै लेखेका छन्, “यदि केही दिनभित्र यो प्रकरणको समाधान भएन भने, कोही पनि होस् — छोडिँदैन। अनुसन्धानले यदि तपाईँको समेत कमजोरी देखायो भने तपाईँ पनि दोषी ठहर्नेछ। किनभने कसैको पनि एक रुपैयाँ डुब्नु हुँदैन, कोही पनि ठगिनु हुँदैन।”
उनले गम्भीरताको साथ थपेका छन्, “अहिलेको अवस्था हेर्दा तपाईँले ठुलो गल्ती गर्नुभएको छैन जस्तो लाग्छ। त्यसैले यो भाइ तपाईँका लागि चट्टान बनेर उभिएको छ।”
सम्बन्धित पक्षले कार्कीको यस धारणा र चेतावनीलाई गम्भीर रूपमा लिँदै यथाशीघ्र समाधान खोज्नुपर्ने आवश्यकता देखिन्छ। यदि घटनाको न्यायिक र प्रशासनिक तहबाट निष्पक्ष छानबिन नहुने हो भने, यस्ता ठगी घटनाहरूले भविष्यमा झन गम्भीर रुप लिन सक्ने खतरा रहेको देखिन्छ।