काठमाडौं, जेठ २४ –नेकपा (माओवादी केन्द्र) को शक्तिशाली भातृ संगठन योङ् कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नयाँ अध्यक्षमा कमरेड पुष्प ओली सर्वसम्मतरूपमा चयन भएका छन्। तत्कालीन माओवादी जनयुद्धको उत्कट योद्धा, दुर्दान्त घाइते भई पनि क्रान्तिको बाटो नछाडेका ओली अब वाईसिएलको शीर्ष नेतृत्वमा पुग्न सफल भएका हुन्।
महत्वपूर्ण बैठक र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको गहन छलफलपछि ओलीको नाममा सहमति जुटाइएको हो। सोही बैठकमा महासचिवमा गणेश शाहीको नाममा पनि सहमति जुटिसकेको छ भने अन्य पदाधिकारीहरूको टुंगो क्रमशः लाग्दैछ।
को हुन् अध्यक्ष पुष्प ओली?
पुष्प ओलीको जीवन, इतिहासको कुनै पाना झैं छ, जहाँ बलिदान, संघर्ष, समर्पण र क्रान्तिप्रतिको अगाध विश्वास अंकित छन्। २०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली बाल्यकालदेखि नै अध्ययनशील, तेजस्वी र जिज्ञासु थिए। तर, बाल्यकालको त्यो सामान्य जीवनलाई माओवादी जनयुद्धले पूर्णतः रूपान्तरण गरिदियो।
विद्यालय स्तरमै अध्ययन गर्दै गर्दा उनी माओवादी आन्दोलनप्रति आकर्षित भए। २०५७ सालमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा आवद्ध भई जनताको पक्षमा कलमभन्दा बन्दुक बलियो हुन सक्छ भन्ने नारासहित क्रान्तिको भूमिमा होमिए। २०५९ सालसम्म आइपुग्दा उनी पूर्णकालीन कार्यकर्ता भई जनयुद्धमा पूर्ण सक्रिय भए।
डुम्रे विस्फोट – जीवन बदलिएको क्षण
२०६२ साल माघ १९ गते, राजा ज्ञानेन्द्र शाहद्वारा घोषित शाही नगर निर्वाचनको विरोधस्वरूप माओवादीले देशभर आक्रमक आन्दोलन छेडेको थियो। त्यही क्रममा ओली तनहुँको डुम्रेमा बम विस्फोटमा परी गम्भीर घाइते भए।
बम विस्फोटपछि उनको मुख, आँखा, हात, खुट्टामा गोलिका छर्रा र चोट पर्यो। आज पनि उनी शरीरमा गोलीका झर्रा बोकेर हिँडिरहेका छन्। यो केवल शारीरिक घाउ होइन, त्यो एउटा प्रमाण हो— क्रान्तिका लागि उनले चालेको गम्भीर कदमको।
क्रान्तिबाट संगठनतर्फको यात्रा
शान्ति प्रक्रियापछि २०६३ सालमा काठमाडौं उपत्यका सरुवा भएका ओली पार्टीको जिल्ला समिति सदस्यको हैसियतमा काम गर्न थाले। त्यसपछि उनी वाईसिएल भक्तपुरको सचिवालय सदस्य बनेर संगठन निर्माण, अनुशासन कायम, युवा परिचालन, र अभियानहरूमा नेतृत्व गर्न थाले।
उनले रामप्रसाद सापकोटा ‘दिपशीखा’को कार्यकालमा वाईसिएलको केन्द्रीय सचिवको रूपमा संगठनलाई बलियो बनाउने अभियानमा उल्लेखनीय भूमिका खेले।
सुवोध श्रीपालीको नेतृत्वकालमा उनले उपमहासचिवको जिम्मेवारी सम्हाल्दै संगठनलाई समृद्ध दिशातर्फ डो-याएका थिए।
अध्यक्ष बन्ने बाटो
वाईसिएलमा सक्रिय रहेका अधिकांश नेताहरू ४० वर्षे उमेर हद पार गर्दै बिदा भएपछि नयाँ पुस्ताको नेतृत्व आवश्यक थियो। त्यही क्रममा लामो समयदेखि संगठनमा कार्यरत, जनयुद्धको बलिदानी पृष्ठभूमिबाट आएका पुष्प ओली सर्वसम्मत अध्यक्ष पदमा चयन हुने सौभाग्य प्राप्त गरेका हुन्।
ओलीका विचार, व्यवहार, संगठनप्रतिको निष्ठा, र नेतृत्व गर्ने शैलीले वाईसिएल भित्रको अनुशासनलाई बलियो बनाउने र युवा शक्तिलाई मार्गदर्शन गर्ने विश्वास पार्टीभित्र व्यापक रूपमा व्यक्त गरिएको छ।
वाईसिएलको नयाँ अध्याय
पुष्प ओलीको अध्यक्षतामा अब वाईसिएलले राजनीतिक शुद्धता, संगठनात्मक अनुशासन, र राष्ट्रनिर्माणमा युवाको भूमिकालाई अझै सशक्त बनाउने अपेक्षा गरिएको छ।
उनले अध्यक्षमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने:
“यो पद होइन, जिम्मेवारी हो। जनताको पक्षमा लडेका घाइते शरीरले अहिले पनि युवाको सपना देखिरहेको छ। म वाईसिएललाई जनताको सेवामा लाग्ने संस्था बनाउँछु।”
निष्कर्ष
पुष्प ओलीको जीवन गाथा कुनै साधारण नेताको भन्दा फरक छ। उनी क्रान्तिको मैदानमा लडेका, घाइते भएका, फेरि उठेका, र नेतृत्वमा स्थापित भएका जीवित उदाहरण हुन्।
उनको नेतृत्वले वाईसिएललाई केवल एक संगठनको रूपमा नभई देश परिवर्तनको प्रेरणाको स्रोतको रूपमा अघि बढाउने संकेत देखिएको छ।