काठमाडौं, बैशाख ३० – राजधानीको मुटु ठमेलमा अवस्थित आर्य होटेल एण्ड स्पामा आयोजित एक विशेष समारोहले सोमबार साँझ राजधानीको ध्यान तानेको छ। कार्यक्रममा होटेलका संचालक कृष्णप्रसाद सिम्खडाले दिएका प्रेरणादायी मन्तव्यले सहभागीहरूमा उर्जा भरेको थियो भने कार्यक्रममै उपस्थित उपप्रधानमन्त्री एक गहिरो सोचमा तल्लीन देखिन्थे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सिम्खडाले प्रस्तुत गरेको स्पीच व्यवसाय, सेवा र स्वदेशमै केही गर्ने अठोटका बारेमा केन्द्रित थियो। उनका शब्दहरूले उपस्थित व्यवसायी, राजनीतिज्ञ, सञ्चारकर्मी र समाजसेवीहरूमा आत्ममूल्यांकन र प्रेरणाको झिनो बत्ती बालिदिएको थियो।
“हामीलाई बाहिर जानुपर्छ भन्ने मानसिकता छ, तर सम्भावना त आफ्नै घरमा छ,” सिम्खडाले भने, “परिश्रम, इमानदारी र दिगो सोच लिएर अगाडि बढ्ने हो भने नेपालमै असम्भव केही छैन।”
उनले आर्य होटेल एण्ड स्पाको स्थापना, संघर्ष र सफलताको यात्रा खुलस्त पारे। सुरुमा सीमित स्रोत, अप्ठ्यारो बजार र विश्वासको अभावबीच उनले सुरु गरेको व्यवसायलाई आज राजधानीको प्रतिष्ठित होटेलमध्ये उभ्याउन सफल भएको कथा भावुक बन्यो।
कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री प्रकाश मान सिंह समेत सिम्खडाको सम्बोधन सुनेर सोचमग्न मुद्रामा देखिए। उनले मन्तव्य पश्चात पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै भने, “देशका युवाहरूले देशमै यस्तो सोच ल्याएर काम गर्न थाले भने हामी धेरै अगाडि पुग्न सक्छौं। सिम्खडाजस्तो उद्यमीहरू नै देश परिवर्तनका आधार हुन्।”
उक्त कार्यक्रममा विभिन्न उद्योगी, पर्यटन व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा विदेशबाट फर्किएका उद्यमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा केही सांगीतिक प्रस्तुति र सिम्खडाले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण नेपालीलाई सकारात्मक सोच, अनुशासन र उद्यमशिलताको बाटो समात्न आग्रह गरे।
उनले भने, “परिवर्तन नेतृत्वले मात्र होइन, सोचले ल्याउने हो। सोच परिवर्तन गरौं, नेपाल परिवर्तन हुन्छ।”