काठमाडौं, ३० वैशाख — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले हिजो माननीय गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ। भेटघाट संघका आगामी कार्यक्रम र पूर्ण एकताको सन्दर्भमा अत्यन्तै उपलब्धिमूलक रहेको बताइएको छ।
गृहमन्त्रालयमा सम्पन्न उक्त भेटमा अध्यक्ष श्रेष्ठसहित संघका पदाधिकारीहरूले गैरआवासीय नेपालीको हकहित, सरकारसँगको सहकार्य, तथा संघका दीर्घकालीन योजनाका विषयमा विचारविमर्श गरेका थिए। साथै, एनआरएनएभित्रको एकता कायम गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यदिशा अवलम्बन गर्ने विषयमा गृहमन्त्रीसँग गहन छलफल गरिएको थियो।
अध्यक्ष श्रेष्ठले भेटपछि प्रतिक्रिया दिंदै भने, “गृहमन्त्रीज्यूसँगको छलफल अत्यन्त सकारात्मक रह्यो। उहाँले एनआरएनएलाई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदारका रूपमा लिएका छन्, जुन हामी सबैका लागि प्रेरणादायक छ।”
गृहमन्त्री रमेश लेखकले पनि गैरआवासीय नेपाली समुदायको योगदानको खुलेर प्रशंसा गर्दै, सरकार सधैं सहयोगी भूमिकामा रहने प्रतिवद्धता जनाएका थिए। उनले एनआरएनएको पूर्ण एकताको प्रयासलाई स्वागत गर्दै त्यसमा आफू सकारात्मक भूमिका खेल्न तयार रहेको बताएका थिए।
संघको आगामी विश्व सम्मेलन, लगानी प्रवर्द्धन, नीतिगत समन्वय, र नेपाली प्रवासी समुदायसँगको सम्बन्ध सुदृढीकरणका विषयमा पनि छलफल भएको थियो।
एनआरएनए नेतृत्वले हालको विश्वव्यापी सञ्जाललाई अझ एकीकृत, प्रभावकारी र समर्पित बनाउँदै ‘एक राष्ट्र, एक नेपाली’ को भावना अघि बढाउने संकल्प व्यक्त गरेको छ।