[काठमाडौं] — गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको विशेष सत्रमा रबिना थापाले आज यस्तो विचार प्रस्तुत गरिन्, जसले हलमा उपस्थित सबैको ध्यान तान्यो। उनले आपसी वैमनस्य, गुटबन्दी र स्वार्थी प्रवृत्तिको अन्त्य गर्दै सबै गैरआवासीय नेपालीहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सन्देश दिइन्।
थापाले भनिन्, “आज हामीले इतिहास रचेका छौं। अबका दिनहरू झनै चुनौतीपूर्ण हुनेछन्। एकता भनेको भाषणको विषय होइन, व्यवहारमा उतार्नुपर्ने कार्य हो।” उनले एनआरएनएभित्रको लामो समयदेखिको विवाद, अदालतका झन्झट र नेतृत्वप्रतिको असन्तोषलाई स्मरण गराउँदै भविष्यमा यस्ता अवस्था नदोहोरिने गरी सुधारको बाटो रोज्नुपर्नेमा जोड दिइन्।
उनको विचारमा, एनआरएनए मात्र संस्थागत विकासको सवाल होइन, यो विश्वभर छरिएका नेपालीहरूको आवाज, पहिचान र अधिकारको गाथा हो। “हामी छुट्टाछुट्टै आवाज होइनौं, एउटै आवाज हौं। यो आवाज अब विखण्डन होइन, समाहित गर्ने दिशामा जानुपर्छ,” थापाको बलियो मन्तव्य थियो।
महाधिवेशनको क्रममा भएका अन्य नेताहरूका मन्तव्यहरू भन्दा पनि थापाको भाषण बढी भावना, दूरदृष्टि र समाधानमुखी देखिएको धेरै प्रतिनिधिहरूले बताए। विशेषतः उनले महिला सहभागिता, युवाको सशक्तिकरण र संस्थागत पारदर्शितालाई प्राथमिकता दिनुपर्ने कुरा पनि उठाइन्।
कार्यक्रममा उपस्थित कतिपय वरिष्ठ नेताहरूले उनको विचारको प्रशंसा गर्दै भने, “रबिना थापाजस्तो सोच भएका युवाहरूको सहभागिताले एनआरएनए अझै सबल र जिम्मेवार बन्छ।”
अन्त्यमा, रबिना थापाले सबै प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनिन्, “हामीले एउटै घरमा बसेर आपसी समझदारीमा अघि बढ्न सकेनौं भने, हाम्रो संस्था एकताको होइन, विघटनको प्रतीक बन्छ। अब समय आएको छ, हामी सबैले आ-आफ्ना अंश, अनुभव र योगदान लिएर एउटै दिशामा अघि बढ्ने।”
उनको यो समावेशी र दूरदर्शी सन्देशले महाधिवेशनलाई नयाँ ऊर्जा दिएको छ।