काठमाडौँ, कात्तिक १३ — युवा व्यवसायी तथा समाजसेवी लोकनाथ अधिकारीले नेपाली कांग्रेस अहिले कठिन अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीलाई पुनः बीपी कोइरालाको लोकतान्त्रिक मार्गमा फर्कन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अधिकारीले नेपाली कांग्रेसले हालका राजनीतिक निर्णयहरूले मुलुकको भविष्यको मार्गचित्र निर्धारण गर्ने बताउँदै चेतावनीस्वरूप लेखेका छन्, “बीपीपथ भुलेर प्रचण्डपथमा गएको कांग्रेसले अब ढिलो नगरी बीपीपथमा फर्कनै पर्छ।”
उनका अनुसार, अतिवादी शक्तिहरूसँग बारम्बार सत्ताको साझेदारी गर्दै आएको ‘नाजायज सम्बन्ध’ नै देश र कांग्रेस दुवैलाई आजको कठिन अवस्थासम्म ल्याएको हो। उनले लेखेका छन्, “बिगतका गम्भीर गल्तीको आत्मालोचना गर्दै कांग्रेसले अब राजनीतिक बाटो परिवर्तन गर्नुपर्छ, नत्र लोकतान्त्रिक शक्तिहरूले समेत श्राप दिनेछन्।”
अधिकारीले कांग्रेसलाई परम्परागत मूल्य, सनातन सभ्यता र लोकतान्त्रिक सोचमा आधारित राजनीतिक अभ्यासमा फर्किनुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, “अबको निर्णय देशको माटो समातेर गर्नुपर्छ, न कि आवेग र सत्ता–लोभको भावनामा।”
उनले चेतावनीस्वरूप भनेका छन्, “यदि कांग्रेसले आफ्नो मूल पहिचान गुमायो भने, देशले पनि त्यसको मूल्य चुकाउनुपर्नेछ।”
लोकनाथ अधिकारीको यो अभिव्यक्ति हाल आन्तरिक विवाद, महाधिवेशनको तयारी र वैचारिक द्वन्द्वका बीचमा रहेको नेपाली कांग्रेसका लागि महत्वपूर्ण सन्देशको रूपमा लिइएको छ।