अगस्त २२, वाशिङ्टन डीसी ।गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा भर्जिनियाका समाजसेवी तथा कम्प्युटर इन्जिनियर माधव गौतम अत्यधिक मतका साथ विजयी भएका छन्। उनले ४१४१ मत प्राप्त गर्दै बोर्ड अफ डाइरेक्टरमा जित हासिल गरेका हुन्।
यस पटकको निर्वाचनमा ८३०३ मत खसेको थियो। बोर्ड अफ डाइरेक्टरतर्फ २३ जनाको उम्मेदवारी परेका मध्ये गौतमले सबैभन्दा बढी मत ल्याउँदै आफ्नो लोकप्रियता प्रमाणित गरेका छन्। उनी संलग्न समूहले पनि यस चुनावमा उल्लेख्य सफलता हात पारेको छ।
त्यस्तै, अध्यक्ष पदमा गौतमकै समूहका उम्मेदवार सतेन्द्र शाह विजयी भएका छन्। शाहले ३२२८ मत प्राप्त गर्दै नवनिर्वाचित अध्यक्ष बन्न सफल भएका हुन्।
विजयपछि सामाजिक संजालमार्फत भावुक अभिव्यक्ति दिँदै गौतमले भनेका छन्:
“NRNA NCC USA निर्वाचनमा मलाई ४१४१ मत प्रदान गरी विजयी गराइदिनु भएकोमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयपूर्वक धन्यवाद व्यक्त गर्दछु। यो जित केवल मेरो मात्र नभई हामी सबै नेपालीहरूको साझा विश्वास, एकता र समर्थनको नतिजा हो। तपाईहरूको माया, विश्वास र साथ बिना यो सम्भव हुने थिएन। जय नेपाल ! जय एनआरएनए !”
समाजसेवी गौतम विगत लामो समयदेखि खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय रहेका छन्। उनले गैरआवासीय नेपालीहरूको हित, अधिकार र एकताको पक्षमा निरन्तर काम गर्दै आएका छन्।
आगामी कार्यकाललाई “अझ प्रभावकारी सेवा र परिणाममुखी नेतृत्व” को रूपमा अघि बढाउने संकल्प व्यक्त गर्दै गौतमले मतदाताको विश्वासलाई नतिजामा परिणत गर्ने प्रतिबद्धता जनाएका छन्।